News

रुकुम पूर्वमा माओवादीको विद्रोह, सबै क्षेत्रमा बागी उम्मेदवारी

रुकुम पूर्वमा माओवादीको विद्रोह, सबै क्षेत्रमा बागी उम्मेदवारी

माओवादीको उद्गम जिल्ला मानिने रुकम पूर्वमा माओवादी नेताहरुले विद्रोह गरेका छन् । सत्ता गठबन्धनका र आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर माओवादी केन्द्रका नेताहरुले चुनावी विद्रोह गरेका हुन् । 

रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले बागी उम्मेवारी दिएपछि कारबाहीमा परेका छन् । अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् । उनीविरुद्ध रावलले बागी उम्मेदवारी दिएका हुन् । यहाँबाट नेकपा एमालेकी भावना बुढाथोकी उम्मेदवार छिन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेदवार छन् । उनीविरुद्ध माओवादी केन्द्रका सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरेको छ ।


रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर (आयाम) र नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यमा पनि माओवादी केन्द्रका बागी चन्द्रराज झाँक्री उम्मेदवार छन् ।

रुकुम पूर्व

विशेष