News

प्रचण्डसहित दर्जन वढि उम्मेदवारलाई कारवाही गर्न प्रमाण जुटाउँदै आयोग

प्रचण्डसहित दर्जन वढि उम्मेदवारलाई कारवाही गर्न प्रमाण जुटाउँदै आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल दर्जनवढि उम्मेदवारलाई कारबाही गर्न प्रकृया थालेको छ। 

आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले सवैलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणमा उम्मेदवारले आचारसंहिता उल्लंघन नगरेको भन्दै जवाफ फर्काएपछि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै प्रतिवेदन मागेर कारबाही गर्न लागेको हो। कारवाहीका लागि प्रमाण जुटाउने काम भईरहेको आयोग श्रोतले जनाएको छ।

जानकारी अनुसार आचारसंहिता उल्लंघनका १ सय ५० भन्दा बढी उजुरी परेका छन्। ति मध्ये ५० भन्दा बढीमाथि छानबिन भइरहेको छ। कतिपय उजुरी सत्यमा आधारित देखिएकाले ति उजुरीका आधारमा प्रमाण जुटाउने काम भईरहेको एक आयुक्तले वताए ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदातालाई विदेश पठाइदिने प्रलोभनमा पारेको भन्दै स्पष्टीकरण सोध्नुका साथै कारबाही गर्न प्रहरीलाई समेत पत्र पठाउने आयोगले निर्णय गरेको थियो ।

पछिल्लो प्रकृयामा माकेका अध्यक्ष दाहाल, वीरबहादुर बलायर, दीर्घबहादुर सोडारी, लक्ष्मीराम आचार्य, बद्री मैनाली, विरोध खतिवडा, इन्द्र बानियाँ, मेटमणि चौधरी, उमाकान्त चौधरी, सीके राउत, दुर्लभ थापा, ऐन महरको नाम संलग्न छ।

दाहालले गोरखा–२ मा उम्मेदवारी दिन जाँदा बाजा बजाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । दाहालले भने बाजा बजाएको बारेमा थाहा नभएको जवाफ दिएका छन । तर, उम्मेदवारी दिन जाँदा ¥यालीमा पञ्चेबाजा बजाएको भिडियो दाहालकै फेसबुक पेजमा राखिएको छ ।

खानेपानीमन्त्री एवं बारा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उमाकान्त चौधरीले निर्वाचन प्रचारप्रसार क्रममा सरकारी गाडी दुरुपयोग गरेको तथा सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।

त्यस्तै, मकवानपुर–२ का एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा र मकवानपुर–२ (२) का कांग्रेस उम्मेदवार इन्द्रबहादुर बानियाँले मनहरी क्याम्पसका विद्यार्थीलाई भ्रमण सहयोगबापत १५ हजार उपलब्ध गराएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

बझाङका उम्मेदवार ऐनबहादुर महरलाई जिल्लास्तरीय प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिताविपरीत प्रथम पुरस्कारबापत ४१ हजार रुपैयाँ प्रदान गरेको, माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले चुनावी सभामा आयोग र आयोगका पदाधिकारीलाई लाञ्छना लगाएको भन्दै स्पष्टिकरण सोधिएको थियो।

यसैगरी, आयोगले कैलाली–४ (१) का उम्मेदवार दीर्घबहादुर सोडारी, कैलाली–४ का कांग्रेस उम्मेदवार वीरबहादुर बलायरलाई पनि स्पष्टीकरण सोधेको थियो । सवैका विषयमा आवश्यक जाँचवुझ गर्ने र कारवाहीका लागि प्रमाण जुटाउने काम भईरहेको आयोग श्रोतले जनाएको छ।
 

विशेष