News

मतदातालाई बन्द खामभित्र के पठाउँछन् योगेश भट्टराई?

मतदातालाई बन्द खामभित्र के पठाउँछन् योगेश भट्टराई?

उम्मेदवारहरूले चुनावमा मत माग्न घरदैलोसँगै सामाजिक सञ्जालहरूको भरपुर उपयोग गरिरहेका छन् । तर, नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले भने नयाँ शैली पनि अपनाएका छन् ।

दोस्रोपटक ताप्लेजुङबाट जित निकाल्न प्रयास गरिरहेका भट्टराईले मतदातालाई हुलाकबाट खामबन्दी चिठी पठाएर आफूसहित प्रदेशसभाका दुई उम्मेदवारका लागि मत मागेका छन् ।

इन्टरनेटको दुनियाँ र सहज सन्चारका कारण लोप हुँदै गएको हुलाकबाट यसपटक ताप्लेजुङमा भने घरघरमा पत्र पठाइँदैछ । प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र प्रदेशसभा १ का तीलकुमार मेन्याङ्वो र २ का गोपाल थोप्राले हस्ताक्षर गरेको पत्रमा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल छ ।

हुलाकबाट ढिला हुने ठाउँमा कार्यकर्तामार्फत घरघरमा पठाइएको पत्रमा विगतमा आफूहरूले थालेका विकासका कामलाई पूर्णता दिन र सबैको पहिचानलाई संरक्षण र सम्वर्द्धन गर्न एमालेको जित आवश्यक रहेको उल्लेख छ ।

पहिलोपटक ताप्लेजुङबाट चुनाव जितेर मन्त्रीसमेत भएका भट्टराईले आफ्नो पालामा अघि सारिएका विकास आयोजनाहरूलाई चुनावी मुद्दा बनाएका छन् ।

अघिल्लो पटक ताप्लेजुङबाट प्रतिनिधिसभामा योगेशसँगै प्रदेशसभामा बलबहादुर साम्सोहाङ र टंक आङबुहाङ निर्वाचित भएका थिए । माओवादीबाट निर्वाचित टंक पनि अहिले एमालेमै छन् र उनी समानुपातिक उम्मेदवार छन् । माओवादीको एउटा पंति तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षमा बसेर एमालेमा रहेकाले योगेशलाई गठबन्धनसँग चुनाव लड्दा पनि अनुकूल अवस्था देखिन्छ ।

याेगेश भट्टरार्इ

विशेष