News

रविको घोषणा पत्रमा खोपी र गुच्चा, भाषणमा महिना दिनमै सय रोजगारी

रविको घोषणा पत्रमा खोपी र गुच्चा, भाषणमा महिना दिनमै सय रोजगारी

घोषणा पत्रमा खोपी र गुच्चा जस्ता कुरा गर्ने रवि लामिछानेले मौन अवधिको पुर्व सन्ध्यामा भने आफ्नो पार्टीको सरकार बनेको एक महिनामा विदेशिएका युवाहरूलाई नेपाल ल्याएर रोजगार दिने उधारो बाचा गरेका छन् ।

चितवनको नारायणी नदी किनारमा विहिवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने–‘फ्रि भिसा फ्रि टिकटको स्किम आएको भन्ने सुनेको छु। ल मेरो पनि आज एउटा स्किम लैजानुहोस्, हाम्रो सरकार बन्यो भने एक महिनाभित्र विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ।’

चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उनले ‘विस्तारै अमेरिका, युरोपका गल्लीमा नेपालमा रोजगार पाइन्छ भन्ने पोस्टर टाँसिनेछ। त्यसका लागि म आफैं जानेछु’ भन्दै भाषण गरे।

विदेशमा कति युवा छन् भन्ने एकिन तथ्यांक पनि नभएको तथा कस्तो र कहाँ रोजगारी दिने भन्ने कुरा भने उनले भाषणमा कतै चुहाएनन्। नत उनको घोषणा पत्रमा नै यस्ता विषयमा वोलिएको छ। उनको घोषणा पत्रमा चै खोपी र गुच्चा जस्ता खेललाई अन्तर्राष्ट्रियकरण गर्ने कुरा उल्लेख छन्।

पार्टीका सभापति समेत रहेका लामिछानेले यसअघि आफूले न्याय नपाउँदा चितवनले न्याय दिएकाले चितवनलेनै सिंगो देशलाई न्याय दिने पनि बताए। ‘यहाँ केही गर्छु भन्नेले केही नगर्नेलाई जवाफ दिनुपर्ने रहेछ। अब जवाफ दिने होइन समाधान खोज्न यो बाटो रोजेको छु’ उनले भने–‘अब जवाफ दिएरै छाड्नेछु । मलाई जहिल्यै घेराबन्दीमा पार्ने गरिएको छ। अहिले फेरि म एउटा चक्रब्यूहमा छु। चक्रब्यूहबाट मलाई मंसिर ४ गते भोट हालेर निकाल्न सक्नुहुन्छ। सबका कानमा हिजै घण्टी बजाएकै हो। अब ब्याण्ड बजाउने हो।’
 

विशेष