News

रविले प्रेस काउन्सिलको नाम लिएपछि के भन्छन् तत्कालिन अध्यक्ष किशोर श्रेष्ठ ?

रविले प्रेस काउन्सिलको नाम लिएपछि के भन्छन् तत्कालिन अध्यक्ष किशोर श्रेष्ठ ?

नागरिकता सम्बन्धी उजुरी परेपछि विवादमा आएका चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले वुधवार फेसवुक लाईभ मार्फत त्यसको प्रतिवाद गरे।

नागरिकताको विषय चार वर्ष अगाडि नै टुङ्गिएको दाबी गर्दै उनले आफु सही भएको प्रमाण भने प्रस्तुत गर्न सकेनन् । उनले आफु सहि भएको पुष्टि गर्न प्रस्तुत गर्नुपर्ने भनेको स्पष्ट भाषामा नयाँ नागरिकता हो ।

नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै नेपाली नागरिकता खारेज भइसकेको थियो । उनले अमेरिकी नागरिकता त्यागेपपछि नयाँ नागरिक्ताका लागि प्रकृया सुरु गर्नुपर्ने प्रावधान छ ।

तर, उनले त्यसो नगरेर ०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेर निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता गरेको पाईएको छ । उनले लाइभ भिडियो सेयर गर्दै लेखेको स्ट्याटस समेत नागरिकता सम्बन्धी विवाद अदालतबाटै विवेचना भएर सेटल भइसकेको दाबी गरेका छन् ।

‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरी कति पटक स्पष्टीकरण दिनु पर्ने हो?’ भन्दै उल्टै प्रश्न गरेका छन् ।

रविले प्रेस काउन्सिलको नाम लिने वित्तिकै तत्कालिन काउन्सिल अध्यक्ष किशोर श्रेष्ठले त्यसको जवाफ दिएका छन् । आफनो फेसवुकमा लामो स्ट्याटस लेख्दै श्रेष्ठले रविले दावी गरे जस्तो प्रेस काउन्सिल, नेपालले उनको नेपाली नागरिकताको विवाद सल्टाएको नभई १४ बर्षसम्म बोकी हिंडेको अमेरिकी नागरिकता र ग्रीन कार्ड दूतावासमा लगेर सरेण्डर गर्न या सजायँ भोग्ने विकल्प रोज्न बाटो खुलाइदिएको बताएका छन् ।

‘देशको माया लागेर, अमेरिकी सुखको स्वर्ग त्यागेर आएको मान्छेले ४–४ बर्षसम्म उताको पासपोर्ट र ग्रीनकार्ड बोकेर किन हिंडिरहे ? ३ वटा उजुरी परेर काउन्सिलले छानविन थालेपछि मात्रै हत्तपत्त किन दूतावास धाउन पुगे? नेपाली जनताले यो कुरा पनि जान्न पाउनुपर्ने होला नि !’ श्रेष्ठले लेखेका छन्–‘काउन्सिलले त्यतिबेला उनले श्रम, प्रेस, सम्पत्ति र अध्यागमन कानून ४ बर्ष मज्जैले कुल्चेको प्रमाणसहित जनतालाई सुसूचित गरेको हो । यसवारे प्रेस काउन्सिललाई अध्यागमन, सूचना र श्रम विभागले दिएको लिखित जवाफ सुरक्षित छ ।’

भावावेशमा आएर नचाहिँदो टिप्पणी गर्नु या गालीगलौजमा उत्रनु अगाडि जो कसैले गएर अभिलेख हेर्न सक्ने श्रेष्ठले बताएका छन् । ‘तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख प्रेमकुमार राई, तत्कालीन सन्चार सहसचिव रामचन्द्र ढकाल (हाल श्रम,रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय) र न्युज २४ का प्रमुख अनिल जोशीलाई पनि यससम्बन्धी बिस्तृत जानकारी छ । बिदेशी राहदानी नदेखाई, दाजु हरिशरणको नातेदार भीसामा बसेर, डलरमा बार्षिक भीसा फी तिरेर, श्रम इजाजतबिना, ४ बर्षसम्म उनले नेपाल टेलिभिजन र न्यूज ट्वान्टी फोरमा कार्यरत रहँदा वेलकम एडभर्टाइजिङ्गमार्फतसमेत गरेको आम्दानीसहित उनीबाट पूर्ण नेपाली नागरिकसरह भएर/गरिएका यावत कामहरु बैध हुन्छन् कि अवैध ?’ श्रेष्ठले प्रश्न गरेका छन् ।

उनले अगाडि लेखेका छन्–‘त्यस अवधिमा पारिश्रमिक या आम्दानीबापत राज्यलाई कति कर तिरियो ? राज्यका निकायहरुले बोले हुन्छ । या, उनैले कत्ति पनि उत्तेजित नभई वास्तविकता खोले हुन्छ । यो उनैका निम्ति राम्रो अवसर पनि हो ।’

यो पनि,

रवि लामिछाने

विशेष