सन्दीप जस्तै बलात्कार आरोप लागेका श्रीलंकन क्रिकेटर धरौटीमा रिहा
क्रिकेटर सन्दीप लामिछाने जस्तै अष्ट्रेलियामा बलात्कारको मुद्दा खेपिरहेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका धरौटीमा रिहा भएका छन् । उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको छ।
सिड्नीको डाउनिङ सेन्टर लोकल कोर्टले ३१ वर्षीय क्रिकेटर दनुस्कालाई धरौटीमा छोड्न आदेश दिएको हो। विश्वकप खेल्न गएको श्रीलंकन टिमसँगै बसिरहेका उनलाई गत नोभेम्बर ६ मा सिड्नी हायत रिजेन्सी होटलबाट पक्राउ गरिएको थियो।
एक २९ वर्षिया महिलालाई बलात्कार गरेको आरोप लागेका दनुस्काले आफनो मञ्जुरीबिना चार पटक शारीरिक सम्बन्ध राखेको पीडित महिलाले आरोप लगाएकी थिईन। पार्कली जेलमा रहेका दनुस्काले भर्चुअल माध्यमबाट सिडनी डाउनिङ सेन्टर लोकल कोर्टमा भएको सुनवाइमा उपस्थिति जनाएका थिए। त्यसपछि उनलाई म्याजिस्ट्रेट जेनेट वाहलक्वीस्टले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।
अदालतमा पेश भएको प्रहरीको अभियोग पत्रमा दनुस्का गुनथिलकाले बल प्रयोग गरेर जाहेरीकर्तासँग जबरजस्ती यौन सम्बन्ध राखेको उल्लेख छ । सोही आधारमा प्रहरीतर्फका वकिल केरी एन म्याकिननले गुनथिलकालाई विमान चढ्न दिनु जोखिमपूर्ण हुने तथा उनलाई छोड्दा जाहेरीकर्ताको असुरक्षा हुन सक्ने भन्दै धरौटी अस्वीकार गर्नुपर्ने तर्क गरेका थिए ।
अभियोग पत्रमा भनिएको छ, ‘जाहेरीकर्ताले आरोपीको हातमा समातेर उसलाई हटाउने कोशिस गरिन्, तर आरोपीले उनको घाँटीमै अँठ्याए । जाहेरीकर्तालाई मृत्युको डर भयो र आरोपीबाट छुटकारा पाउन सकिनन् ।’
प्रहरीलाई दिएको बयानमा गुणथिलकाले जाहेरीकर्तासँग यौनसम्बन्ध रहेको स्वीकार गरेका छन्, तर जबरजस्ती नगरेको उनको दाबी छ । प्रहरीले अहिलेसम्म जाहेरीकर्ताको पहिचान सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालमा श्रीलंकनहरुले ती युवतीलाई ह्यारेसमेन्ट गरिरहेको प्रोसिक्यूटर म्याकिननले बताए । ह्यारेसमेन्टकै कारण ती युवतीले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।
यता नेपाली क्रिकेटर सन्दीप पनि एक किशोरीमाथि जबरजस्ती यौनसम्बन्ध राखेको आरोप खेपिरहेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
सन्दीप लामिछाने