News

मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिलाको मृत्यु

मुस्ताङको मेसोकोन्दोपास फेदीमा दुई विदेशी महिलाको मृत्यु

अत्यधिक चिसो र हाईअल्टिच्युडले बिरामी परेका दुई विदेशी पर्यटकको मुस्ताङको मेसोकोन्दोपास फेदीमा मृत्यु भएको छ। थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ। उनीहरुको शुक्रवार मृत्यु भएको हो।

लमजुङको बेसी सहरदेखि मनाङ हुँदै राउण्ड चक्रिय अन्नपूर्ण पदमार्ग यात्रामा निस्किएका १२ जना विदेशी, ८ जना भरिया र २ जना प्रथप्रर्दशक टोली गरी २२ जना समूह नोभेम्बर १७ मा तिलिचो ताल आइपुगेका थिए।

नोभेम्बर ११ मा पदमार्गमा निस्किएको उक्त टोली बेसी सहरबाट ६ दिनको पदयात्रापछि तिलिचो तालमा आइपुगेको थियो। मनाङबाट तिलिचो ताल हुँदै मेसोकोन्दो पासको अग्लो पहाड छिचोलेर मुस्ताङको ठिनी गाउँ झर्ने क्रममा दुई विदेशी महिला पर्यटक बिरामी परेर घाइते भएका थिए।

अत्यधिक चिसो र हाईअल्टिच्युडले बिरामी भएका उनीहरुको शुक्रबार दिउँसो एअर डाइनोष्टिकको माउण्टेन हेलीले मुस्ताङबाट उद्दार गरेको थियो। समुन्द्री सतहदेखि ४२ सय मिटर अग्लो उचाइको मेसोकोन्दो पासको फेदीमा थाइल्याण्डका ति दुई पर्यटकको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीका प्रतिनिधि कुङ्गा शेर्पाले जानकारी दिए।

अन्नपूर्ण पदमार्गमा हिंडेका २२ जनामध्ये एक विदेशी र एक नेपाली तिलिचो तालबाट पुनः मनाङ फर्किएका छन् भने सकुशल रहेका १४ जना विदेशी पर्यटक र भरियाहरु शुक्रबार साँझ जोमसोम आइपुगेका थिए। 

मेसोकोन्दोपासमा मृत्यु भएको दुई विदेशी महिलाको लाश कुर्न दुई भरिया मेसोकोन्दोपासको फेदीमै बसेका छन्।
 

विशेष