२४ ठाउँमा गोली चल्यो, १५ ठाउँमा मतदान स्थगित
![२४ ठाउँमा गोली चल्यो, १५ ठाउँमा मतदान स्थगित](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/bajura.jpg)
मतदानका क्रममा देशभरका ११ जिल्लाका २४ ठाउँमा गोली चलेको छ । २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
ताप्लेजुङ, रौतहटको गरुडा, कनकपुर, सिरहाको मिर्चैया बडहरमाल, चितवनको राप्ती नगरपालिकामा गोली चलेको छ। राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ।
दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएपछि २६ राउन्ड गोली चलाउनुपरेको छ। गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको १ र २, कालिञ्चोक गाउँपालिका–७ र १ मा गोली चलेका छ। जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ ।
तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलेको छ। स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा पनि गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ ।
बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको छ। दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।
१५ केन्द्रमा मतदान स्थगित
निर्वाचन आयोगले साढे ३ बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको छ। त्यहाँ मतदान पुनः मतदानको प्रयास भइरहेको आयोगले जनाएको छ।
प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।