News

मतदानपछि गगन थापाले गरे प्रधानमन्त्रीको दाबी 

मतदानपछि गगन थापाले गरे प्रधानमन्त्रीको दाबी 

कांग्रेस महामन्त्री गगन थापाले आवधिक निर्वाचनको चक्र कहिल्यै टुट्न नहुने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका थापाले आइतबार मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले संविधान निर्माणपछि दोस्रो आम निर्वाचन भइरहेको भन्दै यो सबै नेपालीका लागि खुसीको विषय भएको बताए । 

उनले निर्वाचनपछि बन्ने सरकारले पनि दिनरात नभनी काम गर्‍यो भने अफ्ठेरो नहुने बताएका छन् । निर्वाचनपछि गठबन्धन दलमा बिजनेस गर्न खोजिए परिस्थिति अप्ठेरो हुने थापाको भनाइ छ ।  उनले संसद्मा निर्वाचित भएपछि पार्टीको संसदीय दलको चुनावमा आफूले दाबी प्रस्तुत गर्ने आफ्नो सङ्कल्प रहेको भन्दै आफूले प्रतिनिधि सभामा सानदार ढङ्गले जित्ने विश्वास व्यक्त गरे । थापाले आफू संसद्मा निर्वाचित भएकै भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताए ।

‘म यहाँबाट सांसद भएर गएर भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी थाल्छु । र संसदीय दलको निर्वाचन लड्ने हो । दलको निर्वाचन जित्ने हो । त्यसको आधारमा ड्राइभिङ सिटमा बसेर अफ्ठेरो अवस्थालाई चिरेर देशलाई हाँक्ने हो भन्ने मेरो सङ्कल्प हो’, थापाले भने, ‘त्यो सङ्कल्पका निम्ति मलाई मेरो निर्वाचन क्षेत्रका मतदाताको विश्वासले सङ्कल्प पुरा गर्ने आधार बनाएको छु ।’

विशेष