News

फेला पर्यो सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरी बालिका नभएको प्रमाण

फेला पर्यो सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरी बालिका नभएको प्रमाण

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिका नभएको प्रमाण अदालतमा पेश भएको छ। लामिछानेका वकिलले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेस गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंमा पीडित र पीडक दुवैको बयान सकिएपछि दुबैतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । बुधबार सन्दीपका तर्फबाट दुई जना वकिलले बहस गरेका छन् ।

बहसका क्रममा कानुन व्यवसायी मुरारी सपाकोटाले पीडित नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् । ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।

अर्की कानुन व्यवसायी रोशनी घिमिरेले सन्दीपलाई धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् । पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् । यस्तै ३ जना विभिन्न महिलाअधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् ।

थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश हुनेछ । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन। सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो। भदौ ६ गते उनी टी–२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। 

सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्।  
यो पनि,

सन्दीप लामिछाने

विशेष