झापामा ओलीका मत गन्न थालियो

एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नं. ५ मा मतगणना सुरु भएको छ । सर्वदलीय निर्णयअनुसार सोमबार बिहान साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।
मतगणना दमक नगरपालिका कार्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सुरु भएको हो ।
६१ वटा मतदानस्थलका एक सय ७६ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठक सोमबार बिहान मात्र सकिएको थियो । पहिलो चरणमा छ वटा मतदान केन्द्रको मत पेटिका खोलेर गणना गर्ने काम सुरू भएको हो ।
एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थात् एक लाख दुई हजार एक सय ५० मत खसेको थियो । एमालेबाट अध्यक्ष ओली तथा सत्ता गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार छन् ।