News

बालकोटबाट १० करोड बोकेर खतिवडालाई हराउन को निस्कियो ?

बालकोटबाट १० करोड बोकेर खतिवडालाई हराउन को निस्कियो ?

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले आफूलाई जुनसुकै हालतमा हराउन भन्दै केही व्यक्ति मोटो रकम खर्चेर लागिपरेको सूचना पाएको बताएका छन् ।

आज हेटौंडा उपमहानगरपालिका ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले एमालेसँग विद्रोह गरेर प्रतिगमनविरुद्धको लडाईंमा लागेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूलाई आगामी चुनावमा जसरी पनि हराउने भन्दै केही व्यक्ति हात धोएर लागिपरेको जानकारी मिलेको उल्लेख गरेका हुन् । ‘विरोध र माधवलाई जसरी पनि चुनावमा हराउनुपर्छ भनेर केही मान्छे लागेका छन्,’ खतिवडाले भने, ‘एमाले अध्यक्ष केपी ओलीबाट १० करोड रुपैयाँ बुझेर केही मान्छे मकवानपुर आएका छन् अरे !’

खतिवडाले आफूहरुलाई हराउन एमाले अध्यक्ष जति पनि खर्च गर्न तयार रहेको बताए । तर उनले मकवानपुरका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरेका छन् । कतै कांग्रेस, कतै माओवादी केन्द्रबाट उम्मेदवार नै नरहेको भ्रम छरिएको सन्दर्भमा उनले भने, ‘हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेदवार हौं ।’

खतिवडाले आफ्नो निर्वाचन क्षेत्रमा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेको जानकारी पनि दिए । सूर्य चिन्हबाट चुनाव जितेका आधा दर्जन वडाध्यक्षको नाम सार्वजनिक गरे ‘अरिङ्गालले मुख सुन्निने गरी हान्ने सम्भावना रहेको’ भन्दै उनले नाम बताउन चाहेनन् ।

विरोध खतिवडा

विशेष