News कभर स्टोरी मुख्य समाचार प्रदेश ३

उपत्यकामा कांग्रेसलाई फलिफाप, माओवादी र समाजवादीको पत्तासाफ 

उपत्यकामा कांग्रेसलाई फलिफाप, माओवादी र समाजवादीको पत्तासाफ 

काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदिप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै काठमाडौं, २, ६, ७, ८ मा स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी भए ।

उपत्यकामा गठबन्धनबाट चुनाव लडेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारले नराम्रो हार व्यहोर्नु परेको छ । काठमाडौंमा उम्मेदवारी दिएका माओवादी र एकीकर्त समाजवादीका नेताहरूले यति कम मत ल्याए कि उनीहरू निकटतम् प्रतिस्पर्धी पनि बन्न सकेनन् ।  

क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना धमला र क्षेत्र नम्बर १० मा अञ्जना विशंखेले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई हराउँदै स्वतन्त्र पार्टीबाट सोविता गौतम निर्वाचित भएकी छन् । 

काठमाडौं निर्वाचन क्षेत्र ७ मा गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली निर्वाचित भएका छन् । 

यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र ७ मा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्‍ठलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिभक्त श्रेष्ठ निर्वाचित भएका छन् । 

यस्तै काठमाडौं- ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भए । यहाँ माओवादीकी कल्पना धमला सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिइन् । तर उनी पराजित भइन् । 

ललितपुरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबरा निर्वाचित भइरहँदा सँगैको क्षेत्र ३ मा भने पम्फा भुसाल पराजित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले भुसाललाई पराजित गरेकी छन् ।

गठबन्धन गरेर सिट बाँडफाँड गरेका सत्तारुढ दलका नेता कार्यकर्ताहरू एकअर्कालाई घोचपेच गर्न थालेका छन् । भागवण्डा अनुसार गठबन्धनका उम्मेदवार पराजित हुन थालेपछि घात गरेको आरोप एक पार्टीका कार्यकर्ताले अर्काे पार्टीका कार्यकर्तालाई लगाउन थालेका छन् । 

मत परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकभरि अग्रता लिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने गठबन्धन नफापेको भन्नेहरू पनि थपिन थालेका छन् ।

नेपाली कांग्रेसले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)सँग साझेदारी गरेको नेकपा माओवादी केन्द्रका युवा नेता दीपशिखाले आरोप लगाएका छन् । त्यतिमात्रै नभएर दीपशिखाले नपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘कालो कांग्रेस’ भन्दै घोचपेच गरेका छन् । 

दीपशिखा लेख्छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ!’  हो रहेछ, ‘तपाई र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना!’ उनले अगाडि थपेका छन्, ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

 


 

 

विशेष