News

झाँक्रीले भनिन्ः यो चुनाव मेरा लागि अत्यन्तै रोमान्चक रह्यो 

झाँक्रीले भनिन्ः यो चुनाव मेरा लागि अत्यन्तै रोमान्चक रह्यो 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् । 

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

मत परिणामपछि झाँक्रीले सहयोगी तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेकी छन् । ‘गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथीहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, संवयम सेवक र पत्रकार साथीहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले लेखेकी छन् । 

यो निर्वाचन रोमान्चक रहेको प्रतिक्रिया झाँक्रीको छ । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ । यो साढे दुई दशकमा समाजलाई जसरी (डिपोलिटाइजेसन) एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भिर छ । डर लाग्दो छ ।’

उनी अगाडि लेख्छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सँधै ऋणी  हुनेछु ।’ 

 

रामकुमारी झाँक्री

विशेष