News मनोरञ्जन साहित्य आज

सुटुक्क डिलिट भयो चर्चित अनलाइनबाट ‘तिम्रो योनीमा अणु बम पड्काउन चाहन्छु’ शीर्षकको कविता

सुटुक्क डिलिट भयो चर्चित अनलाइनबाट ‘तिम्रो योनीमा अणु बम पड्काउन चाहन्छु’ शीर्षकको कविता

साहित्य सम्बन्धी समाचार प्रकाशन गर्ने एक चर्चित अनलाइनले एउटा कविता प्रकाशन गर्यो । कविताको शीर्षक थियो ‘तिम्रो योनीमा अणु बम पड्काउन चाहन्छु ।’ अनलाइनका सम्पादक लामो अनुभवी पत्रकार तथा साहित्यकार हुन् । थुप्रै नाम चलेका पत्रपत्रिकामा काम गरिसकेका ती सम्पादक यसपालि भने चिप्लिएका छन् । 

‘तिम्रो योनीमा अणु बम पड्काउन चाहन्छु’ शीर्षकको कविता प्रकाशन भएकाे केही समयपछि  डिलिट भएको छ । उक्त कविताले महिला हिंसालाई प्रबर्द्धन गरेको भन्दै आलोचना भइरहेकाे छ । लेखक, साहित्यकार तथा महिला अधिकारकर्मीले आपत्ति जनाइरहेका छन् ।

लेखक सुमिनाले उक्त कवितालाई सञ्चारमाध्यममा स्थान दिन नहुने भन्दै आपत्ति जनाएकी छन् । ‘योनिमा अणुबम पड्काउन चाहन्छु’ टाइपका हिंसालाई प्रबर्द्धन गर्ने, महिलालाई फगत योनि भन्दामाथि नदेख्ने, यौनको साधन सोच्ने र चरम घृणा ओकल्ने कुण्ठित कवितालाई आफ्नो स्वविवेक प्रयोग नगरी किन प्रकाशन गर्छन्? पनि केही समयपछि डिलिट गर्नुपर्ने गरि,’ सुमिनाको आपत्ति छ । 

अर्की महिला साहित्यकारले टिप्पणी गरेकी छन्, ‘जसको गर्भबाट जन्म्यो उसैलाई अणुबम हान्ने ! यो भन्दा लज्जास्पद  चिज के होला?’

प्रकाशन भएको समाचार सुटुक्क डिलिट गर्नु पत्रकार आचारसंहिताविपरित हो । पत्रकार आचारसंहिता, २०७३ अनुसार अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात हटाउन हुँदैन ।  तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पुर्याउने खालका सामग्री घटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ । उक्त अनलाइनले भने सुटुक्क पोर्टलबाट कविता हटाएको छ । 

प्रकाशन भएको अनलाइनको लिङ्क खोलेर हेर्दा ‘खै के भो. तपाईंले खोज्नुभएको सामाग्री भेटिएन त!’ सन्देश देखिन्छ । 

सञ्चार माध्यममा प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुपनि आचारसंहिता विपरित हो ।

पोस्ट डिलिटबारे सम्पादकले स्पष्टिकरण दिनुपर्ने माग पनि केही व्यक्ति को छ । 

 

डिलिट

विशेष