News

रविको नागरिकता विवादबारे निर्वाचन आयोगले दियो यस्तो जवाफ

रविको नागरिकता विवादबारे निर्वाचन आयोगले दियो यस्तो जवाफ

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा कुनै निर्णय नगर्ने भएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित लामिछानेको नागरिकताबारे निर्वाचनअघि नै प्रश्न उठेको थियो । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेकाले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो ।

विदेशी नागरिकता प्राप्त गरेको व्यक्तिले नेपाल फर्किएर विदेशी नागरिकता त्यागेपछि नयाँ नागरिकता लिनुपर्ने भए पनि रविले नयाँ नागरिकता नलिएको भन्दै राजकुमार पाण्डेले उनीविरूद्ध आयोगमा उजुरी दिएका थिए ।

आयोगले नागरिकताबारे उठेको प्रश्नमा सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो। लामिछानले आयोगलाई नागरिकता विवादबारे दिएको स्पष्टीकरण मंसिर ७ गते निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले अब उक्त विवादबारे कुनै निर्णय नलिने भएको छ । निर्वाचन आयोग ऐनको दफा ९ अनुसार उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा नभइसकेको अवस्थामा मात्रै कुनै उम्मेदवार योग्य वा अयोग्य भएको विषयमा आयोगले निर्णय गर्ने एक आयुक्तले बताए ।

लामिछानेका हकमा निर्वाचन परिणाम आइसकेकाले अब यो विषय संवैधानिक अदालतबाट निरूपण गर्नुपर्ने आयोगले जनाएको छ ।

नागरिकता विवाद रवि

विशेष