उपेन्द्रको हारका मुख्य दुई कारण : नागरिकता विधेयकको विरोध र चीनको 'एजेन्ट'

काठमाडौं- मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन्। जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरमा पराजित भएका हुन्।
सप्तरी–२ मा राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९ सय ७९ मत ल्याएका छन्। मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भए।
यादव पराजयको मुख्य कारणको रुपमा उनले मधेसमा मधेसका जनताका लागि भन्दा पनि सत्तामा रहिरहनका लागि चिनियाँ एजेन्टको रुपमा काम गरेको र मधेसी जनताको अधिकार प्राप्तिका काम नगरेको आरोप रहेको छ। त्यसैगरी लाखौं नागरिकताविहीन नेपालीहरुलाई नागरिकता उपलब्ध गराउने सरकारको योजनाको यादवले चर्को विरोध गरे। उनका लागि त्यो पनि निकै ठूलो घाटाको विषय बन्यो।
अर्को भनेको विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव चुनावको मुखमा भने आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भए। जसलाई मधेसी जनताले मन पराएनन्। उनको द्वेध चरित्रलाई मधेसी जनताले अस्वीकार गरिदिएका छन्।
चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका उनी आफू मात्रै हारेनन् कि पार्टीलाई धराशयी हुने स्थितिमा पुर्याएका छन्। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि अन्तत: पार्टी नै संकटमा पारेका छन्।
मधेस विरोधी शक्तिसँग तालमेल, मधेसको मतलाई सत्ता तथा आफ्नो राजनीतिक स्वार्थमामात्रै उपयोग गरेका यादव सप्तरी २ कमजोर देखिएपछि उनलाई जिताउन चिनियाँ प्रतिनिधिहरु सप्तरीमै पुगेका थिए। चिनियाँ प्रतिनिधिहरुले उक्त क्षेत्रमा मुभमेन्ट गरेको बताए पनि मधेसी जनताले भने उपेन्द्र यादव र उनको प्रवृतिलाई अस्वीकार गरिदिएका छन्।