News

न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !

न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !

१६५ वर्ष पुराने मुलुकी ऐनलाई प्रतिस्थापन गरी लागु गरिएको विवादित ‘मुलुकी संहिता’ को शिकार न्यायाधिश नै भएका छन् । 

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार गरेको आरोप लागेको छ। गिरीकी कान्छी श्रीमतीले आफुमाथि वैवाहिक बलात्कार भएको, अप्राकृतिक यौन सम्बन्ध राखेको र घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् । 

कपिलवस्तु जिल्ला अदालतको चौथो नम्बरका न्यायाधीश गिरीले विगत पाँच वर्षदेखि आफूमाथि अन्याय गरिरहेको उनको आरोप छ। मुलुकी संहिताले श्रीमतीको इच्छाविपरित यौन सम्बन्ध राख्नुलाई बलात्कार मान्छ । श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

यही मुलुकी संहिता अनुसार श्रीमानमाथि कारवाहीको माग गर्दै दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको उनको आरोप छ। पीडित महिलाका अनुसार विवाह गर्दा न्यायाधीश गिरी कोहलपुरको एक सरकारी कार्यालयमा उपसचिव थिए । महिलाको माइती नेपालगन्ज हो । सामाजिक सञ्जालबाट आफुहरु नजिकिएको ती महिलाले बताइन् ।

न्यायाधीश गिरीले आफूलाई ०७५ साल बैशाखमा दोस्रो श्रीमतीको रुपमा विवाह भित्र्याएको उनले वताएकी छिन्। न्यायाधीश गिरी ४ सन्तानका बुवा हुन् । ‘मैले विवाह गर्न मानेकी थिइन । घरमा भएकी श्रीमती बिरामी भइराख्छिन् सहमतिमै अंशबन्डा गरेर तिमीलाइ भित्र्याउँछु भन्नु भएको थियो। तिमी नभए झुन्डेर मर्छु भन्दै सुसाइट नोटसमेत देखाउनु भयो’ उनले भनिन्–‘दवाव भएपछि भारतको अयोध्या पुगेर हिन्दु परम्परा अनुसार बिवाह गर्यौ। विवाहमा मेरा परिवारका सदस्य पनि थिए।’

बहु विवाहको अपराधबाट उम्किन गिरीले जेठी श्रीमतीसँग अंशबन्डा समेत गरेको र ३५ लाख नगदसहित अन्य धन सम्पत्ति पनि दिएको उनले वताएकी छिन् । तर, विवाहपछि लगातार शारीरिक तथा मानसिक यातना दिने, यौन शोषण गर्ने गरेकाले आफु पीडामा परेको उनको भनाई छ।

गिरीले आफुलाई यौन इच्छा पुरा गर्ने वस्तुको रुपमा मात्रै प्रयोग गरेको उनको आरोप छ। विवाह भएदेखि हालसम्म दुई पटक गर्भपतन गराएको बताएकी उनले ०७५ असारमा पहिलो पटक औषधी खुवाएर आफ्नो इच्छाविपरीत भ्रुण हत्या गरेको महिलाको भनाई छ । ‘जहाँ गएपनि मलाई सँगै लाने। कोहलपुरबाट सरुवा भएर उहाँ दिपायल जानु भयो । बिहे गरेको तीन महिनापछि म गर्भवती भएँ । म सन्तान जन्माउन चाहन्थे । तर, उहाँले जबरजस्ती औषधी खुवाएर गर्भपतन गराउनु भयो,’ उनी भन्छिन्, ‘औषधि खान मानेकी थिइन । तर, कुटपिट गर्न थालेपछि बाध्य हुनुपर्यो।’

दिपायलबाट धनगढी सरुवा भएपछि दोस्रो पटक ०७६ जेठमा गर्भवती भएको तर कुटपिटका कारण गर्भ खेर गएको उनले वताईन। ‘गर्भपतन गराउन दवाव दिन थाल्नु भयो । मैले अस्विकार गरेँ । मलाई मरणासन्न हुने गरी कुटपिट गर्नु भयो । छाती, टाउको, पेट जताततै हिर्काउनु भयो। कुटपिटकै कारण तीन महिनाको गर्भ खेर गयो।’

आफनो पीडा सुनाउँदा पटक पटक भक्कानिएकी उनले यस विषयमा प्रहरी समक्ष जाँदा पनि सुनुवाई नभएको वताईन। ‘गर्भपतन भएपछि रक्तश्राव रोएिकन । म धनगढीको एक अस्पताल भर्ना भएँ । त्यहाँ उपचार भएपछि मैले जिल्ला प्रहरी कार्यालय कैलालीमा भ्रुण हत्याको उजुरी दिए । मलाई फकाएर अब यस्तो गर्दिन उजुरी फिर्ता लेउ भनेर फकाउनु भयो’ उनले भनिन्–‘माईतीमा समेत दवाव दिनुभयो। प्रहरीले पनि मिलापत्र गर्न सुझाव दिएपछि मैले उजुरी फिर्ता लिएँ । तर, मलाई अब सन्तान चाहिन्छ भन्ने माग कायम थियो।’

हाल श्रीमानसँग आफूले सन्तानको चाहाना राखेपछि पुनः कुटपिट गर्न थालेको उनको भनाई छ। त्यसपछि उनी न्याय खोज्दै हाल काठमाण्डौंमा आएकी छिन् । आफु अहिले आफन्तकोमा लुकेर बसेको उनले वताईन। 

पीडित महिलाले अहिले आफू असुरक्षित भएको बताएकी छन् । प्रहरीले आफ्नो उजुरी लिन नमानेकोले आफू लुकेर काठमाडौँ आएको बताइन् । गत मंसिर २ गते न्यायाधीश गिरीले निर्घात कुटपिट गरेको बताएकी उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बैवाहिक बलात्कार, अप्राकृतिक यौन सम्बन्ध र कुटपिटको जाहेरी दिन जाँदा प्रहरीले लिनै नमानेको वताईन। ‘मलाई विगत ५ वर्षदेखि नियमित यौन शोषण गरिराख्नु भएको छ । लगातार कुटाई खाँदै आएकी छु’ उनी भन्छिन्, ‘मंसिर २ गते कुटपिट गरेर शारीरिक सम्पर्क गर्नुभयो । त्यसपछि मैले न्याय खोज्ने निर्णय गरेकी हुँ।’

‘प्रहरीले उजुरी लिन नमानेपछि मानव अधिकार आयोग र महिला आयोगमा निवेदन दिएकी छु । उल्टै तपाईंविरुद्ध उजुरी परेको छ भनेर भन्छन् । महिलाले भनिन्, ‘मलाई न्याय चाहिएको छ । यत्रो वर्ष हिंसा सहेर बसेँ । मैले कुनै धन सम्पत्ति पैँसा मागेकी छैन । म माथि अन्याय भएको छ । मेरो उजुरी लिइयोस् त्यही चाहान्छु । आफ्नै श्रीमतीलाई अन्याय गर्ने न्यायाधिशले कसरी जनतालाई न्याय दिन्छ?’

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतसँग यस विषयमा सम्पर्क गर्दा उनले कुनै जवाफ दिन चाहेनन् । न्यायाधीश गिरीविरुद्ध उजुरी आएको हो ? भन्ने प्रश्न गर्ने वित्तिकै एसपी बस्नेतले फोन काटे । पुनः फोन सम्र्पक गर्दा उनको फोन उठेन । न्यायाधिश गिरीसँग ९८५८०..४०० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन। 

भुवन गिरी

विशेष