News

एमालेको गढमा झण्डै हारे विष्णु पौडेल

एमालेको गढमा झण्डै हारे विष्णु पौडेल

०७० सालको दोस्रो संविधानसभा चुनावमा प्रधानमन्त्री समेत भइसकेका माओवादी नेता बाबुराम भट्टराईलाई तेस्रो वनाएर कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेर रुपन्देही २ मा विजयी भएका एमालेका नेता विष्णु पौडेललाई यस पटक भने जित निकाल्न हम्म हम्मे परेको छ।

०७० को चुनाव यता एमालेले बुटवललाई आफ्नो बलियो प्रभावक्षेत्र मान्दै आएको थियो। ०७४ को निर्वाचनमा पनि पौडेलले कांग्रेसका युवराज गिरीलाई २२ हजार बढिको फराकिलो मतान्तरले पराजित गरेका थिए। 

त्यसपछि भने बुटवलमा एमाले र विष्णु पौडेलको प्रभाव कम्जोर हुँदै गयो। विशेष गरेर प्रदेशको स्थायी राजधानी दाङ तोकिँदा रोक्न नसकेको भन्दै एमाले नेता तथा सांसदहरुप्रति स्थानीय रुष्ठ थिए। त्यस्तै बालुवाटार जग्गा काण्डको चर्चा पनि पौडेल विरुद्धको चुनावी मसला बनेको थियो। 

तर, ५ दलीय गठबन्धनको तर्फबाट पौडेलसँग चुनाव लड्न अघि सरेका एकिकृत समाजवादीका राजु गुरुङ बैंकिङ कसुरमा कालोसूचीमा परेको आरोप लागेपछि उनको उम्मेदवार खारेज भयो। 

डा. कमल भुसाल निकोलशको चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट लाभ लिएको भन्दै उम्मेद्वारी कायम भएन।  गुरुङ र भुसालको उम्मेद्वारी खारेज भएपछि  रुपन्देही–२ मा पौडेलले आफनो जित सहज देखेका थिए।

यस विचमा ५ दलिय गठबन्धनले राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेद्वार केशवबहादुर थापा मगरलाई समथर्न गर्यो। तर उनलाई कम्जोर उम्मेद्वार ठानिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेलको केही साता अघिसम्म चर्चा कम थियो। बुटवलमा पौडेलको जित सहज भएको विश्लेषण भएपनि यहाँबाट चौथोपटक सांसद चुनिन भने निकै कठिन भयो। 

मतगणना सुरु हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका थिए। यसले एमालेलाई पनि झस्काएको थियो। गणना अघि बढ्दै गर्दा विष्णु झिनो मतले अघि देखिए। मतगणना नसकिदासम्म पनि पौडेलले जित्नेमा एमाले ढुक्क हुन सकेको थिएन। 

शुक्रबार विहान मुचुल्का गरिएको संख्या भन्दा बढि बाक्सामा मत भेटिएको भन्दै गठबन्धन र स्वतन्त्र पार्टीका प्रतिनिधिले गणना बहिस्कार गरेर विरोध जनाए। दिनभर रोकिएको गणना साँझबाट अघि बढेको थियो। बेलुका पौडेलको पक्षमा अन्तिम नतिजा सार्वजनिक भयो। 

पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत पाएका छन्। यो पटकको चुनावमा एमालेका कतिपय केन्द्रीय पदाधिकारीहरु पराजित भए। तर रुपन्देही क्षेत्र नम्बर २ मा विष्णु पौडेलले कठिन तरिकाले भएपनि जित निकालेका छन्। 

विशेष