थापाथलीको सुकम्वासी वस्ती हटाउन जाँदा बालेन्द्रका सेनामाथि आक्रमण
![थापाथलीको सुकम्वासी वस्ती हटाउन जाँदा बालेन्द्रका सेनामाथि आक्रमण](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/jhadap.jpg)
थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप भएको छ। झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो । महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।