News

पशुपति क्षेत्र विकास कोषको जग्गामा मारवाडी सेवा समितिको रजाईँ, अवैद्य संरचनामा चल्यो डोजर

पशुपति क्षेत्र विकास कोषको जग्गामा मारवाडी सेवा समितिको रजाईँ, अवैद्य संरचनामा चल्यो डोजर

सेवाका नाममा ब्यापार चलाएको मारवाडी सेवा समितिले संचालन गरेको धर्मशाला र गौशालामा पशुपति क्षेत्र विकास कोषले डोजर चलाएको छ। अनुमति नलिई बनाईएका अवैद्य संरचनामा कोषले डोजर चलाएको हो।

अवैद्य संरचना हटाउन पटक पटक पत्राचार र सार्वजनिक सुचना जारी गर्दा समेत अटेर गरेपछि डोजर चलाउनु परेको कोषले जनाएको छ। यसअघि पुरातत्व विभाग र कोषले पटक पटक पत्राचार गरे पनि मारवाडी सेवा समितिले बेवास्ता गर्दै आएको थियो ।

कोषले ३५ दिने सार्वजनिक सूचना गर्दा पनि अटेरी गरेपछि भत्काउने निर्णय गरी २४ घण्टाको अल्टिमेट दिएर शुक्रबार नै धर्मशालामा सूचना टाँससमेत गरेको थियो । डोजरले भत्काउन थालेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले फोन गरेर गौशालाका डीएसपीलाई तत्कालका लागि रोक्न आदेश दिएका थिए ।

धर्मशालाले कोषको स्वीकृति बेगर १८ हजार ०९६ वर्गफिटको नक्सा बमोजिमको संरचना निर्माण गरेको छ । ति संरचना मार्फत धर्मशालाले मासिक १२ लाखभन्दा बढी कमाउँने गरेपनि कोषलाई भने वार्षिक ५१ हजार मात्रै दिने गरेको छ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार ०६० सालमा भएको सम्झौताको करारअवधि अनिश्चित छ। सम्झौता अनुसार नन्दी (साँढे) पाल्नु पर्ने भएपछि समितिले त्यसो नगरेको कोषको आरोप छ। सम्झौता विपरित समितिले गाई पालेर दुधको ब्यापार गर्न थालेको थापाले वताए । दुध वेचेर मात्रै मासिक ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाई छ।

अदालत, अख्तियार र महानलेखापरिक्षकको आदेश अनुसार पनि अवैद्य संरचना भत्काउनु पर्ने भएकाले डोजर प्रयोग गर्नु परेको कोषले जनाएको छ। न्यायोचित भाडा निर्धारण र अवैध रुपमा वनाईएका संरचना भत्काए अहिले पनि समस्या समाधान हुने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल भने आफुहरुले सम्झौता उल्लंघन नगरेको बताउँछन् । 

विशेष