News कभर स्टोरी

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा खगराज भट्टको चर्चा, देउबाको पूर्व उद्घोषले पूर्णता पाउला? 

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा खगराज भट्टको चर्चा, देउबाको पूर्व उद्घोषले पूर्णता पाउला? 

डडेल्धुरा प्रदेशसभा १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् । उनी १२ हजार १ सय १२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् । 

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका नेता पठानसिंह बोहरालाई २ हजार ९ सय १८ मतान्तरले हराएका हुन् । 


भट्ट निर्वाचित भएसँगै सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । 


उनले ०६४ यताका तीन निर्वाचन डडेल्धुराको प्रतिनिधि सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे । 

तर सफल हुन सकेनन् । यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर उनी प्रदेशसभाको ढोका खोल्न सफल भएका छन् । र, उनको मुख्यमन्त्रीको बन्ने बाटो खुलेको छ ।

बाजुराबाहेक सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा करिब मतगणना सकिएको छ । नतिजा आइरहँदा प्रदेश सरकारको जोडघटाउ पनि सुरू हुन थालेको छ । ३० निर्वाचन क्षेत्रबाट प्राप्त ताजा परिणामअनुसार सत्तागठबन्धनलाई प्रदेश सरकार बनाउन सहज हुने देखिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्र ८ क्षेत्र र नेकपा एकीकृत समाजवादी २ क्षेत्रमा विजयी भएको छ ।

नागरिक उन्मुक्तिले ५, एमालेले ३ सीट र स्वतन्त्रले एक सीट जितेको छ ।

नेपाली कांग्रेसका कमल शाह, प्रकाश बम, प्रकाश देउवा, बेलबहादुर राना मगर, बहादुर सिंह थापा, देवानसिंह विष्ट, विक्रम धामी, पृथ्वीबहादुर सिंह, शिवराज भट्ट, मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् ।

माओवादी केन्द्रबाट रमेश धामी, खगराज भट्ट, ओमविक्रम भाट, भीमबहादुर भण्डारी, शिवसिंह ओली झपटबहादुर साउद र अक्कल रावल, मानबहादुर धामी विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र दीर्घ सोडारी निर्वाचित भएका छन् ।

गठबन्धनका तीन दलको प्रत्यक्ष तर्फबाट २१ जना सांसद पुगेका छन् । यहाँ २७ सांसद हुँदा सरकार बन्छ । यसरी तीन दलको स्पष्ट सरकार बन्ने देखिन्छ ।

अहिले ११ जना प्रदेशमा कांग्रेसले प्रत्यक्ष जित्दा ४ वा ५ जना समानुपातिक सांसद आउने आँकलन गरिएको छ । माओवादीले ८ जना प्रत्यक्ष जित्दा ३ जनासम्म समानुपातिक आउने अनुमान छ । नेकपा एकीकृत समाजवादीका २ सांसद जोड्दा २८ वा २९ पुग्नसक्ने विश्लेषण छ ।

डडेल्धुरामा सत्ता गठबन्धनले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका डा. तारा जोशी पनि गठबन्धनमा रहन सक्ने बताइएको छ । उनी नेकपा एसमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । उनी सरकारमा सहभागी नहुँदा पनि बहुमत पुग्ने देखिन्छ ।

रेशम चौधरी निकट नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेशसभामा ५ सिट जितेको छ । आगामी सरकार गठन गर्नका नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सदस्यको भूमिका पनि महत्वपुर्ण हुने छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभामा ४ देखि ५ जना समानुपातिक सांसद पाउने आकलन गरिएको छ । 

यही गठबन्धनको सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका लागि माओवादीबाट खगराज भट्टको सम्भावना बढी छ । चुनावभन्दा पहिले डडेल्धुरामा आयोजना भएको सत्तागठबन्धनको कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए ।

२०६४, ७० र ०७४ गरी लगातार संघीय निर्वाचनमा देउवासँगै पराजित भएका भट्ट यस पटक देउवाकै सहयोगमा प्रदेशसभामा विजयी भएका छन् । निर्वाचित ८ जनामध्ये भट्ट माओवादीका सबैभन्दा सिनियर नेता हुन् । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज पनि हुन् ।

मुख्यमन्त्री कुन पार्टीले पाउने भन्ने बारेमा केन्द्रिय तहमा निर्णय हुने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले बताए । दुइ तहमानै वर्तमान गठबन्धनको सरकार बन्ने सम्भावना बलियो देखिएकाले कुन प्रदेशमा कसलाई मुख्यमन्त्री दिने भन्ने बारेका शिर्ष तहमा छलफल हुने बुढाको भनाइ छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशसभा सदस्यमा माओवादीको उपस्थिति अन्य प्रदेश भन्दा राम्रो भएकाले यी दुई प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउनु पर्ने बुढाको भनाई छ । उनी भन्छन्, ‘अन्य प्रदेशमा हाम्रो पार्टीको उपस्थिति तुलनात्मक रुपमा न्युन छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा अघिल्लो कार्यकाल पनि माओवादीले नै नेतृत्व गरेको हुनाले हामीले नै मुख्यमन्त्री पाउनु पर्छ भन्ने हाम्रो दाबी हो । यद्यपी यो विषयको टुङ्गो शिर्ष नेतृत्वले गर्ने छन् ।’ 

यसअघिको पाँच वर्ष माओवादी केन्द्रका त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डलको नेतृत्व गरेका थिए । पाँच वर्ष पुरै कार्यकाल मुख्यमन्त्री भएपनि उल्लेख काम गर्न नसकेको भन्दै भट्टको आलोचना हुने गरेको छ । त्रीलोचन भट्टले काम गर्न नसकेको भन्दै खगराज भट्टले नै पार्टीभित्रबाट आलोचना गरेका थिए । 

सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न युवा नेतृत्व आवश्यक भएको भन्दै विभिन्न पार्टीका नेता तथा सुदूरपश्चिमका अगुवाहरूले भट्टलाई नै मुख्यमन्त्री बनाउनु पर्ने माग गर्न थालेका छन् । 

मुख्यमन्त्री सुदूरपश्चिम खगराज भट्ट

विशेष