News

गठबन्धनमा कांग्रेसले गद्दारी गरेको माओवादी सचिव आचार्यको आरोप

गठबन्धनमा कांग्रेसले गद्दारी गरेको माओवादी सचिव आचार्यको आरोप

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य कांग्रेसको एउटा समुहले माओवादीमाथि गद्दारी गरेको आरोप लगाएका छन् । कांग्रेसको शेखर–गगन समूहले माओवादी केन्द्रलाई भोट नहाल्न तलसम्म निर्देशनै दिएको उनको आरोप छ।

एउटा अन्तर्वार्ताका क्रममा सचिव आचार्यले आफ्नो पार्टीले प्रत्यक्षमा नै ४० सिट माथि जित्ने आंकलन गरे पनि त्यसो नभएको बताए। 

‘माथिबाट केही न केही निर्देशन गयो। शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ। अहिले ठ्याक्कै प्रमाण त छैन। तर घटनाहरूले त्यस्तो देखाउँछ’ आचार्यले भनेका छन्–‘कांग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोसिस गरेको देखिन्छ। तर फेरि अर्को समस्या के रहेछ भने कांग्रेस हाम्रो जस्तो क्याडर बेस पार्टी भएन। मासबेस पार्टी हो। मासमा जाँदाखेरी मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो।’

तर कांग्रेसको एउटा पक्षले माओवादीलाई जानि बुझिकन भोट नहाल्न निर्देशन दिएको उनले जिकिर गरे। ‘हाम्रो अनुमान के थियो भने हामीले उठाएको ४८ सिटमध्ये ४० सिट जति आउनुपथ्र्यो। तर के देखियो भने हामी माओवादीको भोट गठबन्धनका अन्य दलमा खास गरेर कांग्रेसमा, समाजवादीमा सबैतिर सजिलो गरी प¥यो। कांग्रेसको भोट त्यति सजिलै गरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्नेकुरा निर्वाचनको परिणामले देखाउँछ।’–उनले भने।

मत परिणामले कांग्रेस माथि आशंका गर्नुपर्ने ठाउँ रहेको उनले दावी गरे। ‘परिणामले त्यो देखाउँछ। किनभने मत हिसाब गर्दा माओवादीले ४० जति सिटमा जित्नुपथ्र्यो। आठओटा हाम्रो फुत्किएपनि भन्ने थियो। हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौ।’ उनी भन्छन्–‘तर, अहिले प्रत्यक्षमा झण्डै आधि भन्दा बेसिको फरक पर्यो। त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रूपले हामीतिर सिफ्ट भएन भन्ने कुरा देखिन्छ।’

विशेष