News

समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिएपछि विजयी उम्मेदवारलाई तनाव

समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिएपछि विजयी उम्मेदवारलाई तनाव

पाँचथरमा समानुपातिकतर्फको मत पेटिका प्रत्यक्षतर्फको मतपत्र भेटिएको छ। प्रत्यक्षतर्फको अन्तिम मतगणनामा ४७ को मतान्तरले जितहार भइसकेपछि समानुपातिकतर्फ प्रत्यक्षतर्फको मत भेटिएको हो।

पाँचथरमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बेलाई  ४७ मतान्तरले हराएका थिए। जितको खुसियालीमा एमाले समर्थकले विजय ¥याली गरिरहेका छन् । तर, समानुपातिकतर्फको मत गणना गर्दा प्रत्यक्षतर्फको मतपत्र भेटिन थालेपछि स्थिती अन्यौलपुर्ण भएको छ।

समानुपातिकतर्फको गणना सुरु गर्दा प्रत्येक मत पेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिन थालेपछि प्रतिनिधिबीच चर्काचर्की समेत भएको थियो। सर्वदलीय बैठकले समानुपातिकतर्फ भेटिएका मतपत्र पनि गणना गर्ने सहमति भएको छ।

हालसम्म सबैभन्दा धेरै कांग्रेसलाई मत दिइएका १४ वटा मतपत्र भेटिएका छन । एमालेलाई ८, नेकपा मालेलाई एक र दुई बदर भएका मतपत्र भेटिएका छन । समानुपातिकतर्फका करिब ५८ हजार मत गन्दा प्रत्यक्षतर्फको गणनामा ४७ मतले जित र हार स्विकारेका आङदेम्वे र नेम्वाङबीचको प्रतिस्पर्धा अब ३८ को मत अन्तरमा खुम्चिएको छ ।

जिल्लामा कुल ७५ हजार ३ सय ५६ मत खसेको थियो। अझै २२ हजारभन्दा धेरै मत गन्न बाँकी छ। कांग्रेस समर्थकलाई कतै नतिजा उल्टिएला कि ? भन्ने चासो तथा एमाले समर्थकमा हारिएला कि भन्ने चिन्ता देखिन्छ ।

प्रदेशसभातर्फको समानुपातिकका पेटिकामा पनि प्रदेशतर्फका प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र भेटिएका छन । यहाँको थोक्पन मतदान केन्द्रमा मात्रै ८९ वटा मतपत्र भेटिएको गणकहरू बताउँछन। यद्यपि ती मत कसलाई हालिएको छ भन्ने खुलाइएको छैन । पछिल्लो पटक खोलिएका प्रतिनिधिसभाका पेटिकामा पनि प्रदेश समानुपातिकतर्फका मतपत्र भेटिएको बताइएको छ । पाँचथरमा प्रदेशसभातर्फ समानुपातिक प्रणालीको पनि मत गणना सकिएको छ । प्राप्त पछिल्लो परिणाममा ७४ हजार ३ सय ५६ मत गन्दा एमालेले २६ हजार २ मत पाएर अग्रस्थान कायम गरेको छ । यस्तै कांग्रेसलाई १९ हजार ८ सय ८ र माओवादी केन्द्रलाई १० हजार ६ सय ७७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।

उनका अनुसार यस जिल्लाबाट नेकपा एसले २९ सय २०, लिम्बूवानले २ हजार ५ सय ५४ र राप्रपाले ३ हजार ३ सय ६१ मत पाएका छन् । जनता समाजवादी पार्टीलाई १ हजार ७ सय ९ मत प्राप्त भएको छ । जिल्लामा अब प्रतिनिधिसभातर्फको करिब २२ हजार मत गन्न बाँकी रहेकाले सबै मत गनिसकेपछि एकैसाथ प्रत्यक्षतर्फका विजेता उम्मेदवारको नाम घोषणा गर्दै समानुपातिकको पनि परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत दाहालको भनाइ छ ।
 

विशेष