News

बालेन्द्र विरुद्ध खुकुरी निकाल्ने सुकुम्वासीले मंगलवार घेरे महानगर कार्यालय 

बालेन्द्र विरुद्ध खुकुरी निकाल्ने सुकुम्वासीले मंगलवार घेरे महानगर कार्यालय 

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन प्रहरीसहित डोजर पठाएपछि त्यहाका वासिन्दा मेयर बालेन्न्द्र विरुद्ध आक्रोशित भएका छन्। उनीहरुले मंगलवार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो ।

सो क्रममा दुवै पक्षबीच झडप हुँदा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए । बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए। उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए ‘बाँकी नराख्ने’ चेतावनी दिएका थिए।

दिनभरको तनावपछि साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मंगलबार बिहानदेखि थापाथली आसपासका सुकुम्बासीहरू पुनः प्रदर्शनमा उत्रिएका छन्।

महानगर घेरेर फर्केका नागरिकले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।

एकीकृत बागमती सभ्यता विकास समितिले चुनावको दिनमै अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ । एकीकृत  वाग्मती सभ्यता विकास समितिका सुपरभाइजर सागर कटुवाल सुकुम्बासी क्षेत्रमा करिब १३६ घर टहरा हटाउनुपर्ने अवस्था रहेको बताउँछन् ।
 

विशेष