News

हिंसा पीडित बिनु यादवले सर्वाेच्चको गेटमा किन फ्याँकिन रातो रङ ?

हिंसा पीडित बिनु यादवले सर्वाेच्चको गेटमा किन फ्याँकिन रातो रङ ?

आफूमाथि पतिबाटै हिंसा भएको वनाउने सोलुखुम्बुकी बिनु यादवले मंगलवार सर्वाेच्च अदालतको गेटमा रातो रङ फ्याँकेर विरोध गरेकी छन् ।

आफूमाथि भएको हिंसा विरुद्ध उजुरी दिँदा पनि न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।

आफूलाई श्रीमान्को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।

सोलुखुम्बुकी बिनु र रामेछापका प्रदीप कठायतबीच ०७४ फागुनमा काठमाडौंमा चिनजान भएको थियो। प्रेम सम्वन्धमा परेपछि उनीहरूबीच ०७५ मंसिरदेखि शारीरिक सम्पर्क भयो । केही महिनामै बिनु गर्भवती भइन । प्रदीपले गर्भपतन गराउन दबाब दिए, उनी मानिनन ।

०७५ चैतमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा जँचाउँदा गर्भनलीमा गर्भ बसेको र त्यही कारण नली फुटेर रगत फैलिएको बताए । शल्यक्रिया गरेर ६ साताको गर्भ पतन गराइदिए । रामेछापमा रहेका प्रदिप विनुलाई सिनामंगलस्थित श्री गेस्ट हाउसमा राखे। चैत २४ गते बिहान साढे ८ बजे गेस्ट हाउसमा पनि प्रदीपले जबर्जस्ती यौन सम्पर्क राखेपछि शल्यक्रियापछि सिलाएको घाउ फुटेको र फेरी शिक्षण अस्पताल पुगेर उपचार गरेको विनु वताउँछिन् ।

अस्पतालबाट फर्केपछि जडीबुटीस्थित विनुलाई दोलखाली फेमिली गेस्ट हाउसमा राखेर प्रदीप बेखबर भए । ०७६ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा गएर प्रदीपविरुद्ध बलात्कार आरोपमा उनले जाहेरी दिइन । जाहेरी परेको थाहा पाएपछि प्रदीप र उनका काका पवन कठायतले बिनुमाथि डर देखाउन र धम्की दिन थाले ।

पछि विवाह गर्ने आश्वासन देखाएर बलात्कारको मुद्दा फिर्ता गराए। मंसिर २५ मा भद्रकालीस्थित हिन्दु परम्पराअनुसार विवाह भयो । २६ गते दुलही लिएर प्रदीप, उनका काका पवन, बुवा र आमा रामेछाप गोठगाउँको आफ्नै घर गए । बिनुलाई बिसन्चो भएपछि दम्पती नै काठमाडौं उपचार गर्न आए । उपचारपछि प्रदीप रामेछाप गए । बिनु ठिमीमै बसिन । केही समयपछि काका ससुरा पवन (प्रदीपका काका) आएर उनलाई रामेछाप लगे । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष छन् । रामेछाप सदरमुकाम मन्थलीस्थित उनको मनकामना एयरपोर्ट भ्यु होटल छ । होटलमै राखेर काका ससुराले बुहारीमाथि चरम दुर्व्यवहार गर्न थाले । उनको हिंसा सहँदै बस्ने क्रममा बिनु फेरि गर्भवती भइन । पतिलाई जानकारी गराएकै साँझ परिवारका सदस्यले एकै स्वरमा गर्भपतन गर्न लगाए । उनले मानिनन । यसपछि पति नभएको मौका छोपेर काका ससुराले ७० लाख रुपैयाँ दाइजो लिएर आउनु नत्र अस्वीकार गर्ने भनी बुहारीलाई धम्क्याउन थाले । 

औषधीका कारण फेरी पनि बिनुको गर्भ खेर गयो । एक दिन अचानक बेहोस भइन । उनलाई मन्थलीस्थित तामाकोसी अस्पताल पु¥याइयो । औषधि बिहान–बेलुकी २÷२ गोलीका दरले प्रदीप र पवनले खुवाउँथे । पछि केही सन्चो भएपछि उनले औषधि हेरिन । ‘स्लिपिङ ट्याब्लेट’ रहेछ । एक राति उनी औषधिले शिथिल थिइन ।

काका ससुराले कोठाको ढोका ढक्ढक्याए । होटलको बिल, कागजात लिने निहुँमा ढोका खोल्न लगाए । भित्र पसिसकेपछि काका ससुराले जबर्जस्ती करणीको प्रयास गरे । उनी चिच्याइन । काकी सासू, काकाकी छोरी सबै आएर उल्टै उनैलाई गाली गरे । 

एक दिन मौका छोपेर बिनुले पतिको मोबाइलबाट रामेछापका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकलाई म्यासेज गरेर उद्धारको आग्रह गरिन । डीएसपी पाठक होटलमा आएर उनले पठाएको म्यासेज काका ससुरालाई देखाए । त्यसपछि हिंसा र कुटपिट झनै बढ्यो ।

प्रहरीबाट सहयोग पाउने आस मरेपछि बिनु कसैले थाहै नपाउने गरी सुटुक्क निस्किन् र तामाकोसी अस्पताल गइन । बिनुले डा. केशव धामीलाई आफूलाई काठमाडौं पठाइदिन अनुरोध गरिन । तर, उनले पनि काका ससुरा र पतिलाई सुनाइदिए । त्यसपछि आएर उनीहरूले बिनुलाई घर लगे ।

यसैबीचमा बिनुले विवाह दर्ता गरिदिन माग गरिन । तर विवाह दर्ता गराउने बेला पति–पत्नीलाई झिकाइएन । बिनुका ससुरा विमल कठायत रामेछाप नगरपालिका १ मा तत्कालीन वडा सदस्य थिए । आफूलाई कागजमा पढ्न नदिई जबर्जस्त हस्ताक्षर गर्न लगाइएको बिनुको भनाइ छ । ०७६ मंसिर २५ मा विवाह गरेको आधारमा प्रदीप र बिनुको विवाह दर्ता ०७७ जेठ ४ मा भयो । बिहे दर्ता गर्दा बिनुलाई झिकाइएन ।

पछि पतिले उनी विरुद्ध सम्वन्ध विच्छेदको मुद्दा हाले। पतिले सम्बन्ध विच्छेदको मुद्दा हालेपछि अदालत धाउन आफूसँग खर्च र राम्रो कानुन व्यवसायी नभएको मौका छोपेर न्यायाधीशले मुद्दा लथालिंग पारिदिएको बिनुको भनाइ छ । त्यसपछि उनले इजलासमै विष पिईन। 

त्यसपछि उनलाई तामाकोसी अस्पतालमा लगेर बान्ता गराइयो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याएर १९ दिन आईसीयूमा राखियो । बिनुले जिल्ला अदालतको फैसलाविरुद्ध गत असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गरेकी छन । त्यसपछि पनि आफुले न्याय नपाएपछि उनी सर्वोच्च अगाडि विरोध गर्न पुगेकी हुन।
 

विशेष