News

स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा किन बोल्दैन आयोग ?

स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा किन बोल्दैन आयोग ?

निर्वाचन सम्पन्न भएर सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाएको १० दिन वितिसक्दा समेत  स्याङ्जा–२ र बाजुराको मतगणना अघि वढेको छैन। त्यहाँ पुन निर्वाचन गर्ने की मतगणना गर्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय नै लिन सकेको छैन।

दुवै ठाउँमा धाँदली भएको र वुथ क्याप्चर भएको आरोप छ। दुवै ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरु निर्णयमा पुग्न सकेका छैनन। आज पनि यस विषयमा छलफल गर्ने आयोगको तयारी छ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरिसकेका र विदेशमा भएका ब्यक्तिको नाममा समेत मतदान गरिएको, बुथ क्याप्चर गरिएको भन्दै एमालेले अहिलेसम्मका मतगणनाको प्रकृया अवरुद्ध गरेको छ।

बाजुराको पनि अवस्था उस्तै छ । त्यहाँ बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ । त्यहाँ भने कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् । दुवै दलले फेरी मतदान हुनुपर्ने भनी तोकेका ठाउँहरु भने फरक–फरक छन् ।

स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् । स्याङजाको हकमा सबै प्रक्रिया टुंगिएको, मतदान अधिकृतले गडबड भएकोबारे कुनै मौखिक र लिखित सूचना नदिएको, निर्वाचन अधिकृतले मतपेटिका समेत बुझेको र त्यसरी बुझाउँदा प्रमुख दलका प्रतिनिधिहरुले रोहवरमा हस्ताक्षर समेत गरेको भन्दै कांग्रेस मतगणना शुरु गर्नुपर्ने पक्षमा छ ।

तर स्थलगत टोली पठाउने विषयमा आयोगका पदाधिकारीहरुविच राय बाझिएपछि मतगणना गर्ने कि फेरी मतदान गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया रोकिएका दुई क्षेत्रकै विषयमा आयोगको ध्यान केन्द्रित भएको र सकेसम्म छिटो निर्णय आउने जनाएको छ।
 

विशेष