News

ओलीलाई बालेन्द्रको चेतावनीः कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु

ओलीलाई बालेन्द्रको चेतावनीः कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न’ चेतावनी दिएका छन् ।

थापाथली स्थित बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले डोजर चलाएको विषयमा ओलीले आपत्ति जनाएपछि बालेन्द्रले यस्तो चेतावनी दिएका हुन। ओलीको यो भनाईले आफु विरुद्ध सुकुम्वासी उचाल्ने काम गरेको बालेन्द्रको आसय छ।

बालेन्द्रले अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेको तर, ओलीले भने सुकुम्वासीलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरेको फेसवुक मार्फत आरोप लगाएका छन् ।

‘तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’ ओलीप्रति टिप्पणी गर्दै बालेन्द्रले लेखेका छन्–‘सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।’

बालेन्द्रले सुनधारा सिद्याएर सेतो टावर (धरहरा) निर्माण गराएकोमा पनि आपत्ति जनाएका छन् । ‘तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?’ उनले भनेका छन्–‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।’
 
अब परिस्थिति फेरिएकाले सकेको सहयोग गर्न र कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न उनले चेतावनी दिएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको मंगलवार आयोजना गरेको एक कार्यक्रममा ओलीले बालेन्द्रको नाम नलिए पनि उनलाई लक्षित गर्दै आलोचना गरेका थिए। ‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गथ्र्यौ’ ओलीले भनेका थिए, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै  आपत्ति जनाए । भने, ‘छाप्रा भत्काउन पनि डोजर, मान्छे कुल्चिन डोजर ।’


 

विशेष