News

माओवादी र नेकपा एसको एकताको तयारी, नाम र चिन्हका विषयमा समेत छलफल

माओवादी र नेकपा एसको एकताको तयारी, नाम र चिन्हका विषयमा समेत छलफल

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको पहल सुरु भएको छ। शीर्ष नेताहरू एकताबारे छलफलमा गरिरहेका छन् । स्रोतको दाबी अनुसार एकता हुँदा पार्टीको नाम पनि परिवर्तन हुनेछ । नयाँ पार्टीको नाम नेकपा समाजवादी हुन सक्ने पनि बताइएको छ ।

नेताहरुले पार्टीको नाम र चुनाव चिह्नसमेतको विषयमा छलफल गरिरहेको श्रोतले जनाएको छ। यो एकता प्रक्रियामा वामदेव गौतम, बाबुराम भट्टराई, घनश्याम भुसालसहितका नेताहरूलाई जोड्नेबारेमा पनि प्रयास भएको जनाईएको छ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रयास गरिरहेको श्रोतको दावी छ।

जानकारी अनुसार भुसाललाई एकीकृत पार्टीको महासचिव बनाउन सकिने विषयमा समेत छलफल भएको जनाईएको छ। 

स्रोतका अनुसार चुनाव चिह्न कलम राख्ने विषयमा पनि छलफल भएको छ । दुई पार्टीबीच एकता गर्ने विषयमा पुरानै छलफल भएको तर अहिले ठूलो प्रगति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् । 

३१ साउनमा माओदी केन्द्रले एकीकृत समाजवादीसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट १ भदौमा यी दुई पार्टीबीच एकता गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । दुवै पार्टीले ४ सदस्यीय संयोजन समिति बनाउने निर्णय गरेका थिए । तर, चुनावको मुखमा विवाद हुने भएपछि प्रकृया रोकिएको थियो।

एकीकृत समाजवादीलाई समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउन निकै सकस परिरहेको छ । राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने संर्घषमा एकीकृत समाजवादी सफल भएन भने उसको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्न उठ्नेछ ।

नेता र कार्यकर्तामा अहिले नै देखिन थालेको निराशा थप बढोत्तरी हुने संकेत देखिएको छ । त्यही डरका कारण एकीकृत समाजवादी एकता प्रक्रियामा जोडिन खोजेको स्रोतको दावी छ।
 

विशेष