News राजनीति

ओलीका गम्भीर गल्तीले हार्दैछ एमाले, तनावमा उम्मेदवार

ओलीका गम्भीर गल्तीले हार्दैछ एमाले, तनावमा उम्मेदवार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहेका छन्। तर, उनले आफूले गरेका गल्ती भने महसुस समेत गरेका छैनन्। 

उनकै कमजोरीका कारण पार्टी यस निर्वाचनमा नराम्रोसँग पराजित हुने भएको छ। पार्टी फुटेर तीन भागमा विभाजित हुनु, आन्तरिक असन्तुष्टि बढ्दै पार्टी छोड्नेहरुको सूची बढ्दै जानु, एमाले उम्मेदवार विरुद्ध सत्ता गठबन्धन एकजुट हुनु, टिकट वितरणमा काखापाखा गर्नु, योग्य कार्यकर्ताहरुको मूल्यांकन नगर्नु जस्ता गम्भीर गल्तीका कारण नेकपा एमाले यो निर्वाचनमा पराजित हुने अवस्थामा पुगेको छ।

उम्मेदवारी चयनले देशभरको चुनावी परिणामलाई असर गर्ने चिन्ता देखिएको एमालेकै उम्मेदवारहरु बताइरहेका छन्। सत्ता गठबन्धनसँग भिड्न एमालेले जसपा र राप्रपा लगायत दलसँग चुनावी तालमेल गर्नुले पनि एमालेलाई ठूलो धक्का लाग्ने भएको छ। 

विशेषगरी टिकट वितरणमा अध्यक्ष ओलीले गरेको गल्तीले समस्या बढ्दै गएको उम्मेदवारहरु नै बताउँछन्। केही नेताले पार्टी नै छोडेको घोषणा गरेका छन्, केही नेता पार्टी नछोडे पनि बाहिर खुल्न चाहेका छैनन्।  

अध्यक्ष ओलीले केही नेताहरुलाई निषेध गर्ने नीति लिएको र त्यसले परिणामलाई गम्भीर धक्का लाग्ने केही नेताहरुको विश्लेषण छ। अध्यक्षले टिकट वितरणमा मनलाग्दी गर्दा तल्लो तहको मनोविज्ञानमा हेक्का नराखेको उनीहरु बताउँछन्। 

उम्मेदवारी चयनमा तल्ला कमिटीको सिफारिसलाई बेवास्ता गरिएको भन्दै केही क्षेत्र र जिल्लामा असन्तुष्टि चुलिएर पार्टी छोड्नेहरु बढेका हुन्। पार्टीले कारबाहीको निर्देशन दिए पनि निर्देशनको अवज्ञा हुनसक्ने एमाले नेताहरुको भनाई छ। त्यसको मुख्य जिम्मेवारी पार्टी केन्द्रले लिनुपर्ने उनीहरुको तर्क छ। 

तर, अध्यक्ष ओली भने आफ्ना गल्ती सुधार गर्ने पक्षमा देखिँदैनन्। जसका कारण एमालेका आधिकारिक उम्मेदवारहरु संकटमा परेका छन्। विगतमा भएको संसद् विघटन, संविधानमाथिको प्रहार, पार्टीको निर्णय लत्याउने र पार्टीकै नेताहरुले ओलीविरुद्ध दिएका अभिव्यक्ति यो चुनावमा एमालेको पराजयका लागि सहयोगी बन्नेछन्।

विशेष