News

महेन्द्रनगरमा ओली विरुद्ध आफनै कार्यकर्ताको हुटिङ, कस्ले उचाल्यो भीम रावलको नाम ?

महेन्द्रनगरमा ओली विरुद्ध आफनै कार्यकर्ताको हुटिङ, कस्ले उचाल्यो भीम रावलको नाम ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गरिरहेको महेन्द्रनगरको खुलामञ्चमा भिम रावलको नाम लिएर हुटिङ भएको छ। दार्चुलाबाट चुनाव लक्षित अभियानको उद्घाटन गरेर महेन्द्रनगर पुगेका ओलीलाई आफनै कार्यकर्ताले हुटिङ गरेका हुन् ।

ओलीले दार्चुला र बैतडीका कार्यकर्तालाई सम्बोधन गरिरहेका थिए। उनले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई एमालेको समर्थन रहेको बताएपछि कर्यकर्ताहरुले रावलेका नाम लिएर हुटिङ गरेका थिए।

‘पार्टीविरोधी कुनै पनि उम्मेदवारलाई समर्थन गर्दैनौँ, केन्द्रको निर्णय अक्षरश पालना गर्नुपर्छ,’ भन्दै ओलीले आफनो भनाई राखेपछि सहभागीहरुका तर्फबाट ‘भीम रावल...! ’ भन्दै हल्ला सुरु भयो।

त्यसपछि ओलीले त्यतैतिर फर्केर सुदुर पश्चिममा भीम रावल वाहेक अन्य धेरै रावलहरु रहेको भन्दै अरुलाई अगाडि वढाउन भीम रावलाई विश्राम दिएको बताए । ‘भीम रावलको तपाईहरुलाई कति चिन्ता? ०४८ सालदेखि खादैहुनुहुन्छ, बुढो भइसक्नु भयो...’ ओलीले भने–‘अरुलाई मौका दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल.. थुप्रो रावलहरु छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि लैजानुछ...।’

यता, कर्ण मल्ललाई समर्थन गर्ने ओलीको निर्णयले डढेलधुरा एमालेमा भाँडभैलो सुरु भएको छ। एमाले नेता विक्रम शाहीले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गर्दै प्रतिनिधिसभामा कांग्रेस बीपीका मल्ललाई सघाउने सहमति गरेको थियो।

सहमति अनुसार नै एमालेबाट मनोनयन दर्ता गराएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका थिए। तर पछि कांग्रेस बीपीले प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता डा. ताराप्रसाद जोशीसँग तालमेल गरेको थियो।

त्यसलाई लिएर एमालेले कांग्रेस बीपीसँगको तालमेल तोडेपछि डडेल्धुरा प्रतिनिधि सभामा उम्मेदवारविहीन भएको थियो। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार शाहीलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर एमाले अध्यक्ष ओलीले भने मल्ललाई नै आफूहरुको समर्थन रहेको सुनाए।

विशेष