पुनहिल-घोरेपानी, घान्द्रुक छोटो ट्रकिङका लागि उत्कृष्ठ गन्तव्य, कसरी पुग्न सकिन्छ?
प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी/पुनहिल पदमार्ग । यो अन्नपूर्ण पदमार्गको एक छोटो र बहुत सुन्दर गन्तव्य खण्ड हो । धौलागिरी, अन्नपूर्ण, धम्पुस, टुक्चे पिक लगायत ९ वटा हिमालय नजिकबाट अनुभूति गर्नका लागि पुनहिल/घोरेपानी पुग्नै पर्छ । गुराँसै गुराँस तथा लेकाली वनस्पतिको घना जंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ ।
(अन्नपूर्ण पदमार्ग अन्तरग टाढापानी र घाेरेपानीबिचमा पर्ने देउराली)
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरि घनाजंगल रहेको पुनहिल स्वदेशी विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित घोरेपानी पुनहिलमा सिजनको बेला बिहानै ५ सय पर्यटक पुग्ने गर्छन् ।
पदयात्राका लागि सहज र आकर्षक गन्तव्य खोज्ने हो भने पोखरा नजिकैको पुनहिलरघोरेपानी पदयात्रा निकै आकर्षक र रोमाञ्चक हुन्छ । अन्नपूर्ण पदमार्गकै एक खण्ड हो पुनहिल/घोरेपानी ।
(पुनहिलबाट देखिएकाे धाैलागिरी हिमाल)
(पुनहिलबाट देखिएकाे धाैलागिरी, धम्पुस पिक र अन्नपूर्ण)
(पुनहिलबाट देखिएकाे अन्नपूर्ण नर्थ र अन्नपूर्ण साउथ)
३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल पुग्नेहरूका लागि लेक लाग्ने सम्भावना पनि कम हुन्छ । पहाडी क्षेत्रमा धेरै पदयात्रा नगरेकाहरूका लागि मौसम र स्वास्थ्यका दृष्टिकोणले पनि पुनहिल उपयुक्त गन्तव्य हुन सक्छ । धम्पुसबाट देखिने हिमाल, गुरुङ समुदायको आत्मीयता साँच्चिकै लोभलाग्दो छ ।
पुनहिल/घोरेपानीका आकर्षण
पुनहिलबाट आकर्षक देखिन्छ सूर्योदय । पर्यटकहरू सूर्योदय हेर्नकै लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा देखिने हिमाल झनै आकर्षक हुन्छ । घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले सबैको मन लोभ्याउँछ ।
बाटोभरि फुलेको फूलको मनोरम दृश्यले पदयात्रालाई झन् उत्साहित बनाउँछ । घोरेपानीको आतिथ्यता पनि लोभलाग्दो छ । बाटोमा पर्ने घान्द्रुक र धम्पुसको आकर्षणले पनि पुनहिलको यात्रालाई अविस्मरणीय बनाउँछ ।
घान्द्रुक र धम्पुस क्षेत्रका गुरुङ संस्कृतिका मौलिक उत्पादनहरू तपाईंले कोसेलीको रूपमा ल्याउन सक्नुहुन्छ ।
विश्वका उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलरघोरेपानी पछिल्ला दिनमा विदेशीहरूभन्दा बढी नेपालीहरूको आकर्षक गन्तव्य बन्न थालेको होटेल व्यवसायी जुली पुन ठकुरीले बताइन् ।
(घाेरेपानी, पुनहिल हाेटेल व्यवसायी संघकी सल्लाहकार तथा हाेटेल हिलटपकी सञ्चालक जुली पुन ठकुरी)
पुनहिल तथा घोरेपानीमा विदेशी पर्यटकको बढी आउँछिन् । पछिल्लो समय नेपाली पर्यटक पनि बढ्दै गएका छन् । नेपालीहरूमा घुम्ने ट्रेण्ड बढ्दै गएको छ । प्राकृतिक वातावरणलाई प्रदुसित बनाउन नहुने कुरामा गिरी अनुरोध गर्छिन् । तुलनात्मक रुपमा विदेशी पर्यटक भन्दा नेपाली पर्यटकहरुले वातावरणलाई असर हुने काम बढी गर्ने गरेको गिरीको अनुभव छ । ‘होलिडेमा घुमफिर गरेपनि वातावरणको सँधै रक्षा गर्नुपर्छ’, पुनले भनिन् ।
घोरेपानी आउँदा ट्रकिङ गरेर आउनका लागि पुनले विषेश अनुरोध गरिन् । विश्वको उत्कृष्ठ १० घुम्नै पर्ने गन्तव्यमा परेको अन्नपूर्ण पदमार्गमा हिँडेर आउँदा मात्रै अनुपम प्रकृतिलाई बुझ्न सकिने उनको धारणा छ । ‘विदेशीहरु महंगो खर्च गरेर ट्रेकिङ गर्नकै लागि यता आउँछन् । हामी भने एक दिन हिड्न पनि अल्छि गर्छौँ । हिड्नु भन्दा गाडी चढ्न रुचाउछौँ । यो क्षेत्रमा हिमालहरु छन्, पहाडहरु छन्, थरीथरीका फुल फुल्छन्, चराचुरुङ्गी छन्, सुन्दर प्रकृति छ । ट्रेकिङ गर्दा मात्रै ती कुराको अनुभव लिन सकिन्छ । स्वस्थ रहनका लागि पनि ट्रेकिङ उचित छ,’ पुनले भनिन् ।
आन्तरिक पर्यटकरुमा ट्रेकिङ कल्चर र टाइम म्यानेजमेन्ट स्किल कम हुने गरेको उनी बताउँछिन् । पुनहिलरघोरेपानी ट्रेकिङमा आउँदा न्यानो कपडा र ट्रेक गर्न मिल्ने जुत्ताको बन्दोवस्त गरेर आउनुपर्ने पुनको भनाइ छ ।
‘दिनमा ५/६ घण्टा मात्रै हिड्न पर्छ । नहिड्ने मान्छेलाई २ घन्टाको बाटो भनेको ४ घण्टाको बाटो हो । अधिकांश आन्तरिक पर्यटकहरुमा अझै ट्रेकिङ कल्चर विकास भएको देखिदैन । हिँडेपछि दिनभरी हिड्न खोज्ने पनि देखिन्छन्, कोही हिड्नै नरुचाउने पनि देखिन्छन्,’ उनले भनिन् ।
कसरी पुग्ने?
कास्कीकाे याँ पुलबाट दुई दिनको पैदलयात्राबाट पुग्न सकिन्छ– घोरपानी । घोरेपानीबाट आधा घण्टामा पुगिन्छ– पुनहिल । पोखरा–पुनहिल–पोखरा पदयात्रा पाँच दिनका लागि उपयुक्त हुन्छ । पहिलो दिन पोखराबाट तिखेढुगा, दोस्रो दिन तिखेढुंगाबाट घोरेपानी, तेस्रो दिन घोरेपानीबाट सूर्य उदाएको दृश्य अवलोकन गर्नलाई पुनहिल टावर गएर पुनः घोरेपानी आई बस्न सकिन्छ ।
समयको चापले घोरेपानी नबस्ने भए टाडापानी आएर बस्न सकिन्छ । चौथो दिन घान्द्रुक र पाँचौँ दिन पोखरा आउन सकिन्छ । पुनहिल हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ । पोखरा–अन्नपूर्ण आधारशिविर–पोखरा ११ दिनको पदयात्रा हो ।
कति खर्च लाग्छ?
काठमाडौं–पोखरा टुरिस्ट बसमा जाँदा खानासहित करिब १ हजार खर्च हुन्छ । अन्य साधारण बसमा जाँदा पनि हुन्छ । साधारण बसमा भाडा ५/७ सय रुपैयाँ लाग्छ । हवाईयात्राबाट जाँदा ३५ सयदेखि ४ हजार रुपैयाँसम्म लाग्छ । पोखरा बजारबाट नजिकै रहेको नयाँ पुलसम्म स्थानीय गाडीमा जान सकिन्छ ।
नयाँ पुलबाट सुरु हुने पदयात्रामा एक जनाका लागि दैनिक १ हजार रुपैयाँ भए पुग्छ । औसत खर्च गराइमा प्रतिव्यक्ति करिब १२ देखि १५ हजार रुपैयाँमा रमाइलोसँग घुमेर आउन सकिन्छ ।
नेपालीहरुलाई सहुलियत
आन्तरिक पर्यटन पर्वद्धन गर्नका लागि पुनहिल घोरेपानी होटेल व्यवसायी समितिले नेपालीहरुका लागि विषेश प्याकेजको व्यवस्था गरेको पुनहिल घोरेपानी होटेल ब्यवशाय समिती तथा हिलटप होटेलकी सञ्चालक जुली पुन ठकुरीले बताइन् । नेपाली पर्यटकका प्रतिव्यक्ति १४ सयमा बेड एन्ड डिनर वा बेड एन्ड ब्रेकफास्ट प्याकेजको व्यवस्था गरिएको छ । यो ‘ए’ ग्रेडको सुविधा अन्तरगत पर्दछ । बि वा सि ग्रेडको प्याकेज अझै सस्तो हुने गिरी बताउँछिन् ।