News कभर स्टोरी

कोमल वलीद्धारा चुनावी सभामा बालबालिका प्रयोग, हुन सक्छ तीन वर्ष कैद र जरिवाना

कोमल वलीद्धारा चुनावी सभामा बालबालिका प्रयोग, हुन सक्छ तीन वर्ष कैद र जरिवाना

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कोमल वलीले चुनावी अभियानका बेला विद्यार्थीहरूसँग छलफल गरेका फोटो सार्वजनिक भएको छ ।

गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता माविमा वलीले विद्यार्थीहरूसँग छलफल गरेकी थिइन् ।

चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ ।


वलीले भने विद्यालयको आग्रहअनुसार आफू गएको दाबी गरेकी छन् ।

निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु भनेको बाल अधिकारको गम्भीर हनन हो । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गर्दै बालबालिकाको कुनै प्रकारले शोषण र अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ  । बालबालिका सम्बन्धी ऐन–२०७५ को दफा ६६(२)(छ) मा राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सहभागी गराउन नहुने व्यवस्था छ  ।

उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । बालबालिकालाई जुलुसमा सहभागी गराए वा राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । 

एक विद्यार्थीका अनुसार वली विद्यालयको प्राङगणमा पुगेकी थिइन् । उनले एमाले जिन्दावाद, भोट के मा सूर्यमा भन्ने नारा लगाएको ती विद्यार्थीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले वली र उनका समर्थकले विद्यार्थी भेला गराएर कार्यक्रम गराएको जानकारी आफूले ढिला थाहा पाएको बताएका छन् । आफूहरूले विद्यालयका तर्फबाट वलीलगायतलाई नबोलाएको उनले बताए ।


वलीले त्यसअघि नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जान लागेका खेलाडीलाई निर्वाचन आचारसंहिताविपरीत पार्टीको व्यानर र झन्डा राखेर बिदाइ कार्यक्रम गरेकी थिइन् ।

कोमल वली बालबालिका

विशेष