News

निहारिका राजपुतका छोराको डिएनए बलात्कार आरोपी जिवराजसँग मिल्यो

निहारिका राजपुतका छोराको डिएनए बलात्कार आरोपी जिवराजसँग मिल्यो

महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का शिवराज श्रेष्ठसँग मिलेको छ ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको छ । 


शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर, शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए ।
 
बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो ।
जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो ।
 
 
 
०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो ।

निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो । सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए ।

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् ।

तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन् ।
दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो ।


 

निहारिका राजपुत

विशेष