News

खगराज भट्टको प्रसंशा गर्दै देउवाले भनेः उहाँ र हाम्रो पार्टी मिले सुदूरपश्चिमको विकास हुन्छ

खगराज भट्टको प्रसंशा गर्दै देउवाले भनेः उहाँ र हाम्रो पार्टी मिले सुदूरपश्चिमको विकास हुन्छ

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता तथा डडेल्धुराबाट प्रदेससभा उम्मेदवार गखराज भट्ट राम्रो नेता भएको भन्दै प्रसंशा गरेका थिए । माओवादी र नेपाली काँग्रेस मिलेर गए सुदूरपश्चिमको विकास हुने देउवाको तर्क थियो ।


शनिवार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,  ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ ।’

सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिए । निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?’ प्रधानमन्त्री देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।’ उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे ।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो । उनले भने, ‘अति नै भएपछि हामी अदालत गएका हौँ ।’

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए । ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ’, देउवाले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।’

डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष