News

७० करोडको ट्याग लागेका बास्कोटा र हुमागाई कस्को पल्ला भारी ?

७० करोडको ट्याग लागेका बास्कोटा र हुमागाई कस्को पल्ला भारी ?

०७४ सालको आम निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार भएर काभ्रेपलाञ्चोक २ मा सहज जित निकालेका एमाले नेता गोकुल बास्कोटा अहिले संकटमा परेका छन् । यस पटकको निर्वाचन उनका लागि सहज देखिएको छैन।

बास्कोटाले यस पटक गठबन्धनबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंको सामना गरिरहेका छन् । हुमागाई पनि पुर्व सांसद हुन। ०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याउँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । उनको मतान्तर १७ हजार ८४८ हो। त्यो निर्वाचनमा बास्कोटाको साथमा रहेको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको समर्थन अहिले हुमागाईंले पाएका छन् ।

यो क्षेत्रमा दुवै नेताको जनसम्पर्क राम्रो छ। त्यसैले दुई जनामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव हुँदै विभिन्न संगठनमा रहेका बास्कोटा ०६७ देखि ०७१ सम्म दुई कार्यकाल नेकपा एमालेको जिल्ला अध्यक्ष बनेका थिए। अहिले पोलिट्ब्यूरो सदस्य छन् । बाँस्कोटा २०७० को संविधान सभा सदस्य पदमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका थिए ।

खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । त्यकी कारणले उनले मन्त्री पदबाट राजीनामा पनि दिएका थिए । चुनावी कार्यक्रमहरुमा उनले प्रमाण ल्याउन चुनौती दिँदा कसैले ल्याउन नसकेको बताउने गरेका छन् ।

यता हुमागाई पनि चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका छन्। ०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भए।

काभ्रे–२ मा बनेपा, मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाका सबै वडा, धुलिखेल नगरपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७, पनौती नगरपालिकाको वडा नं १, २, ३, ११ र १२, बेथानचोक गाउँपालिकाको वडा नं १,२,३,४ र ५ पर्छ । यो क्षेत्रमा पर्ने ६६ वडामध्ये ३९ वटामा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवार, २५ वटामा नेकपा एमालेका उम्मेदवार र एउटामा राप्रपाका उम्मेदवार निर्वाचित भएका थिए ।

यो क्षेत्रमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्तारुढ गठबन्धनको ६० हजार ६०२ र नेकपा एमालेको ४५ हजार ५१४ छ । त्यस्तै राप्रपाको दुई हजार ३५४ छ । 

काभ्रे–२ मा एमाले, कांग्रेस सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं, स्वतन्त्र उम्मेदवार मनोज पण्डितसहित १६ जना उम्मेदवार छन् ।

विशेष