News

सडक अलपत्र पार्ने ठेकेदारको एक्स्काभेटर नगरपालिकाको कब्जामा

सडक अलपत्र पार्ने ठेकेदारको एक्स्काभेटर नगरपालिकाको कब्जामा

खोटाङमा एउटा स्थानीय तहले निर्माण कम्पनीको एक्स्काभेटर र ब्याक लोडर दिक्तेल कब्जा गरेको छ। दिक्तेल–खोटाङ बजार सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ब्याक लोडरसहितको सामान रुपाकोट मझुवागढी नगरपालिकाले कब्जा गरेको हो।

दिक्तेल हस्पिटलचोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का पाएको ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनी काम छाडेर गएपछि आइतबार एक्स्काभेटर र ब्याक लोडर नियन्त्रणमा लिइएको हो ।

पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ रुपैयाँको लागतमा २०७९ पुस २० गतेभित्र सक्ने गरी ठेक्का लागेको थियो। तर, कामै नसकी फिल्ड छाडेर गएपछि एक्स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए ।

निर्माण कम्पनी भागेकाले सम्पर्क स्थापित गर्न सामान नियन्त्रणमा लिइएको घिमिरेले बताए । नगरपालिकाले पटक पटक ठेकेदारसँग सम्पर्क स्थापित गर्न खोज्दा ठेकेदार भागि हिडेपछि विकल्पको रुपमा पछिल्लो कदम उठाईएको घिमिरे वताउँछन् ।

नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन हर्कपुर पुगेका थिए । त्यसपछि पनि कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको थियो । निर्माणमा संलग्न संजीव गुरुङले भने केही दिनमा काम सुरु गर्ने बताउँदै आएका छन् ।

सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले काम पुनः सञ्चालन गराउन ताकेता भइरहेको बताए ।
 

विशेष