News

बाँके-२ मा जसपाकै विद्रोहले डेन्जर जोनमा मोहम्मद इस्तियाक राई

बाँके-२ मा जसपाकै विद्रोहले डेन्जर जोनमा मोहम्मद इस्तियाक राई

काठमाडौं- पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा हुने निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ। बाँके-२ मा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा, जसपाका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशम्सेर राणा उम्मेदवार रहेका छन्। 

यसअघि दुई पटक विजयी भइसकेका इस्तियाक राई तेस्रो पटक प्रतिस्पर्धामा छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई यसपटक आफ्नै परिवारले पनि साथ नभएपछि उनले जातीयताको मुद्दालाई बोकिरहेका छन्।  जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिनुबाट नै उनप्रति त्यहाँका मतदाताहरुको असन्तुष्टिलाई प्रदर्शन गर्दछ। 

यस्तै जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राईविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। जसपाबाट उम्मेदवार बन्‍न नपाएपछि उनले विद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए। 

जसपाका सचिव समशुल र केन्द्रिय सदस्य खाँले संघीय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक-पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए। मन्त्री राईकै कारण आफूहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको बुझाई छ।  

उम्मेदवारका लागि नाम सिफारिस गर्दा समेत आफूहरुलाई थाहा नदिइएको समशुल र खाँ बताउँछन्। राईविरुद्ध जसपाकै नेताहरु उम्मेदवार भएपछि पार्टीभित्रैको विद्रोहका कारण उनी डेन्जर जोनमा देखिन्छन्। 

२०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए। नेपाली काँग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए। 

यसपटक भने नेपाली कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ। काँग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।  

यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ। राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ। यसका साथै हिन्दुवादी नेता समेत रहेका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन्। स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली कांग्रेस देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन्।  

क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो। यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो। उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए।

विशेष