News राजनीति प्रदेश २

रघुवीर महासेठकी श्रीमती जुलीकुमारी यसकारण हार्दैछन् चुनाव

रघुवीर महासेठकी श्रीमती जुलीकुमारी यसकारण हार्दैछन् चुनाव

 

काठमाडौं- मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत समावेश भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी नेकपा एमालेका नेता रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतोलाई यो चुनाव आफ्नै कारण हार्ने भएकी छन्। 

उनीविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा मैदानमा छन्। उनलाई सत्ता गठबन्धनको साथ रहेको छ। धनुषा–३ बाट यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि चुनाव लड्दै आए पनि यसपटक समानुपातिकतर्फ बसेकाले गठबन्धनबाट लोसपाका झा उम्मेदवार बनेका हुन्। 

झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन्। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन्।  २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट चुनाव लडेका राजेन्द्र महतोलाई ‘अदृष्य’ सहयोग गरेर जुली आफू समानुपातिकतर्फ बसेकी हुन्। 

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी केही दिन मन्त्रीसमेत भएकी थिइन्। प्रतिनिधिसभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेस इञ्चार्ज रघुवीर महासेठकी श्रीमती हुन्। रघुवीर धनुषा–४ बाट चुनावी मैदानमा छन्। 

धनुषाबाटै समानुपातिक पद्धतिमार्फत पाँच वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी जुली अहिले जनताले उठाएको प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा छन्। केही महिनाअघि संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा एमाले त्यसको विरोधमा उभियो।

संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएपछि सबै दलहरू विरोधमा उत्रिँदा एमाले भने राष्ट्रपतिको बचाउमा उभियो। केही दिनअघि धनुषा–४ बाट उम्मेदवारी दिएका उनका पति रघुवीरले ‘एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता सम्भव नहुने’ सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए।

जुलीले पनि त्यसको समर्थन गर्दै नागरिकता विधेयकको चर्को विरोध गरिन्। नागरिकता विधेयकको विरोध गरेकै कारण नागरिकताविहीन नागरिकहरु उनीसँग निकै असन्तुष्ट छन्। केहीले त उनका विरुद्ध अभियान नै थालेका छन्। अहिले गठबन्धनका उम्मेदवार र नेता–कार्यकर्ताहरू ‘सिन्दुरको अपमान’ गर्ने दल र त्यसका उम्मेदवारलाई मत नहाल्न प्रचारप्रसार गरिरहेका छन्।

यसरी आफ्नै अभिव्यक्ति र विगतमा नागरिकता विधेयकको विरोध गरेकी जुली यसपटक चुनाव हार्ने भएकी हुन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने त्यो क्षेत्रमा कांग्रेस सबैभन्दा अगाडि देखिन्छ। कांग्रेसले लोसपाका झालाई समर्थन गरेका कारण उनलाई जित सहज छ।

विशेष