News

प्रचण्डले ज्ञानेन्द्र शाहीलाई राजतन्त्रका प्रेतात्मा भनेपछि...

प्रचण्डले ज्ञानेन्द्र शाहीलाई राजतन्त्रका प्रेतात्मा भनेपछि...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जुम्लामा उम्मेदवारी दिएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई राजतन्त्रको प्रेतात्मा भन्दै आलोचना गरेका छन्।

जुम्लामा भएको चुनावी सभालाई सम्वोधन गर्दै उनले शाहीको नाम नलिईकनै राजतन्त्रका प्रेतात्माहरु चिच्याई रहेको बताए । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेका छन’ उनले भने–‘यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’

दाहालले गठवन्धनको अबको प्राथमिकता कर्णालीको विकास रहने पनि बनाए। उनले गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।

कर्णालीको बाटो कालोपत्र मात्रै होइन फराकिलो बनाउन आवश्यक भएको उनको भनाई छ। सिंजा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिंजा सम्वन्धी विशेष प्रतिष्ठान बनाएर काम गर्ने उनको प्रतिवद्धता छ।

शाहीले जुम्लामा भोट माग्दै गाउँबस्तीमा ३–४ फेरो लगाइसकेका छन् । उनको प्रचार प्रसार सत्ता गठबन्धन र नेकपा एमालेलाई चुनौती दिने खालको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवारले वडाध्यक्ष पदमा पाएको मत जम्मा ५१४ हो, तर उनको चुनावी कार्यक्रममा सहभागीको उपस्थिति हेर्दा राप्रपालाई कमजोर आँक्न नमिल्ने देखिन्छ ।

सामाजिक सञ्जालमा सक्रिय रहेका शाहीको क्रेज जुम्लामा इन्टरनेट चलाउने युवा र बजार क्षेत्रमा बढी छ । 
 

विशेष