News

मोहन वैद्यको आरोप– प्रचण्डहरु प्रतिगमनकारी हुन, लोकतन्त्र फाँसिवादतिर गयो

मोहन वैद्यको आरोप– प्रचण्डहरु प्रतिगमनकारी हुन, लोकतन्त्र फाँसिवादतिर गयो

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई प्रतिगमकारी भन्दै टिप्पणी गरेका छन् । दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारी भनिरहेका वेला वैद्यले भने दाहालहरु नै प्रतिगमनकारी भएको आरोप लगाए ।

बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताए।

निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको पनि उनले बताए । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेकाले आचारसंहिता नलाग्ने जिकिर गरे । शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोखे ।

दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको उनको आरोप छ। जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनकाविरुद्ध लड्ने हो ? भन्दै उनले प्रश्न गरे । ‘हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहिताता ? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने’ उनले भने–‘यो के तरिका हो ? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’
 

विशेष