News अर्थ अपराध सुरक्षा

भेस्टिजको ठगी धन्दा– विएमडब्लु कार चढेर यसरी ठग्दैछन उपभोक्ता (श्रंखला–२)

भेस्टिजको ठगी धन्दा– विएमडब्लु कार चढेर यसरी ठग्दैछन उपभोक्ता (श्रंखला–२)

कुनैबेला अत्याधिक चर्चामा रहेको ‘युनिटी लाइफ इन्टरनेसनल’ को ठगी काण्ड विस्तारै सेलाउँदैछ। तर, युनिटीका कारण सर्वस्व गुमाएकाहरुको घाउमा अहिले पनि खाटा लागेको छैन।

युनिटी लाइफले नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको स्वीकृति बिना पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गर्दै आएको थियो। जसमा ३ लाख ६६ हजार भन्दा धेरै सर्वसाधारणको तीन अर्ब ८९ करोड रुपैयाँ भन्दा बढी ठगी भएको थियो।

बैंक, स्वास्थ्य, विमान, पर्यटन, ट्राभल एन्ड टुर्सलगायतमा समेत लगानी गरेको र युनिटीको योजनामा सहभागीको मृत्यु भएमा एक लाख, दुर्घटनाबाट मृत्यु भएमा ५ लाख दिने आश्वासन दिएको थियो। तर, दाबी अनुसार काम नभएपछि युनिटी विरुद्ध ललितपुर जिल्ला अदालतमा उजुरी पर्यो। यो योजनालाई ललितपुर जिल्ला अदालतले (२०७० चैत १७ गते) संगठित अपराध ठहर गर्यो।

अध्यक्ष काशीराम गुरुङसहितका ११ जनालाई तीन वर्ष कैद र उनीहरु सबैबाट १२ करोड ७५ लाख हर्जना तिराउने फैसला सुनायो। तर, अध्यक्ष गुरुङ, प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, तालिम निर्देशक कृष्णबहादुर क्षेत्री लगायत त्यसअघि (०६७ जेठ ३ गते ) देखि नै फरार थिए। 

पर्वतको आर्थर डाँडाखर्क गाविस ३ घर भएका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री दाजु भाई हुन। उनीहरुलाई प्रहरीले ५ वर्षपछि  पक्राउ गर्यो। गुरुङ भने यसअघि नै पक्राउ परेका थिए।

खत्री दाजुभाईले अरवौंको ठगीबाट जोगिन अनेक प्रपञ्च गरे। आफै मरेको हल्ला समेत चलाए। प्रहरीलाई आतंकित वनाए। कृष्ण क्षेत्रीले आफनो फेसबुकमा आफ्ना भाइ विष्णुमाथि सांघातिक हमला भएको र उनको हत्या भएको उल्लेख गरेर फेसवुक स्ट्याटस हालेका थिए। तर, पछि यो सवै प्रकरण ठगी काण्डबाट वच्न गरिएको प्रपञ्च भन्ने पुष्टि भयो।

यो घट्नापछि प्रायः वन्द भएको नेटवर्किङ्ग ब्यवसाय अहिले फेरी सरकारकै कारण तङ्ग्रीन थालेको छ। पिरामिड शैलीको नेटवर्किङ ब्यवसायलाई अनुमती त दिइएको छैन तर ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६’ लाई टेकेर नेटवर्किङ्ग ब्यवसायको पुरानै धन्दा सुरु भएको पाईएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष विक्री वितरणका लागि इजाजत पाएका कतिपय कम्पनीले अहिले गैरकानुनी रुपमा सामानहरु विक्रि वितरण गरिरहेका छन्। त्यही मध्येको एक हो– काठमाण्डौं महानगरपालिका ९ को हेल्दी लिभिङ नेपाल प्रालि।

हेल्दी लिभिङले हेल्थ केयरसँग सम्वन्धित ११५ वटा स्वदेशी सामग्री विक्रि गर्ने इजाजत पाएको छ । तर, यो कम्पनीले एकातर्फ भारतीय कम्पनी ‘भेस्टिज’का टुथ पेस्ट, नुहाउने साबुन, स्याम्पु, सरफ, कपालमा लगाउने तेल, परफ्युम, फेस बाँस, कफी, चियापत्ती, खाने तेल, बडी लोसन, कोलोस्ट्रोम क्याप्सुललगायतका सामान विक्रि वितरण गर्दै आएको आएको त भने अर्कोतर्फ वस्तु विक्रिको प्रमुख आधार ‘पीरामिड शैली’ को नेटवर्किङ्गलाई नै वनाएको छ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ को दफा ११ अनुसार यस्ता कन्पनीले पीरामिड शैलीको नेटवर्किङ ब्यवसाय गर्न पाउँदैनन्। वस्तु खरिद गर्नुपुर्व सदस्यता लिनुपर्ने, एउटा सामान किन्दा एकमुष्ट प्याकेजमा खरिद गर्नुपर्ने, आफु मातहतको अर्को प्रत्यक्ष विक्रेता वा वितरक बनाउन नसके भुक्तानी नहुने, वस्तुको कारोवार नगरी विक्रेता वा वितरकबाट शुल्क मात्र लिने, ब्यवसायीक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिशनको प्रलोभन देखाई सदस्य वनाउने वा महङ्गो वस्तु खरिद गर्न लगाउने, वस्तुको खुद्रा विक्रिलाई निरुत्साहित गर्ने ब्यापारिक कार्ययोजना बनाउने, कुनै वस्तुलाई अप्रत्यासित लाभ हुने वा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पारी विक्रि वा वितरण गर्ने सञ्जालयुक्त कार्यलाई ऐनले निशेध गरेको छ।

तर, गर्न नहुने भनेको यही शैली हेल्दी लिभिङ्गले प्रयोगमा ल्याईरहेको छ। हेल्दी लिभिङले काठमाण्डौसहित देशभर २० ठाउँबाट वस्तुको विक्रि वितरण गर्दै आएको छ। तर, अधिकांश दुरदराजका सर्वसाधारण यसमा वढि जोडिएका छन्।

यसरी तयार गरीएको छ संजाल
हेल्दी लिभिङका वस्तु खरिद गर्नु पूर्व अनिवार्य रुपमा सदस्यता लिनै पर्ने बाध्यता छ। वस्तु खरिद गर्ने सदस्यहरुलाई विभिन्न कमिशनका प्रलोभन देखाएर सञ्जाल विस्तार गरिन्छ। सदस्य बन्नका लागि कुनै न कुनै एजेन्टको टिममा जोडिनु पर्छ।

नेपाली नागरिकता वा अन्य कुनै परिचय पत्र बुझाएपछि सदस्य वन्न पाईन्छ। नयाँ बन्ने सदस्यलाई ‘नन क्वालिफाइड डाइरेक्टर’ टाइटल दिएर ५ प्रतिशत कमिसन उपलब्ध गराईन्छ। सदस्यता पाएपछि मोबाइलमा हेल्दि लिभिङको एप डाउनलोड गर्नुपर्छ। अन्य व्यक्तिलाई सदस्य बनाए प्वाइन्टहरु थपिदैँ जान्छ ।

सदस्य भएपछि कम्पनीले उपलब्ध गराएको वस्तुको उपभोग गर्नुपर्छ भनेर तालिम नै दिने गरिन्छ । कम्पनीको वस्तु उपभोग गरे वाफत ५० रुपैँया बराबर एक प्वाइन्ट दिइन्छ। कम्पनीबाट जति धेरै वस्तु तथा सामान खरिद गर्याे त्यति धेरै प्वान्ट प्राप्त हुने लोभ देखाइन्छ । त्यो भन्दा बाहेक नयाँ सदस्य जम्मा गरेवाफत पनि प्वाइन्ट थपिदै जान्छ। 

नेटवर्क बढाउँदै गएको खण्डमा क्वालिफाइड डाइरेक्टर, ब्रोन्ज डाइरेक्टर, क्राउन डाइरेक्टर जस्ता पद प्राप्त हुँदै जान्छ। प्वाइन्ट प्राप्त हुने लालचले सदस्यहरुले आफना नजिकका आफन्त र साथीभाईहरुलाई हेल्दी लिभिङको सदस्यता दिने गरेका छन्। विशेष गरी मध्यमस्तरका सर्वसाधारण, शिक्षकदेखि राजनीतिक दलका नेतासम्म यसका सदस्य र एजेन्ट छन् । उनीहरुले संजाल निर्माण गर्ने र वस्तु विक्रि गर्ने दुवै काम गर्छन।

उसो त केही समयअघि वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति पाएका केही कम्पनीहरूले नेटवर्किङ ब्यवसाय सञ्चालन गरेको विषयमा उजुरी नै परेको थियो। त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले ०७७ असोजमा ‘वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी उपसमिति’ गठन गरी अध्ययन गर्यो। 

उपसमितिले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी व्यवस्था विपरित कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गरी कारबाही गर्नुपर्ने सुझाव दिएको थियो । केही वर्षअघि नेटवर्किङ व्यवसाय गरी कारबाही भोगेका व्यक्तिहरू नै संलग्न भई अहिले हेल्दी लिभिङ जस्ता कम्पनी चलाई रहेको आशंका उत्पन्न भएको तत्कालिन प्रतिवेदनमा उल्लेख छ ।

हेल्दी लिभिङ नेपाल प्रालिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पाएको इजाजत पत्रमा स्वदेशी सामग्री मात्रै विक्रिवितरण गर्ने उल्लेख छ। तर, यसका प्रमुख टेम्पा सेर्पाले भने आफुहरुले स्वदेशी तथा विदेशी दुवै प्रकारका सामग्री विक्रि गर्ने अनुमति लिएको दावी गरेका छन् । 

यता वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले हेल्दी लिभिङ प्रालिले ११५ स्वदेशी उत्पादन मात्रै बिक्री वितरण गर्न इजाजत लिएको बताएका छन् । प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत प्राप्त कम्पनीले कानुनको अधिनमा रहेर कारोबार गर्नु पर्ने उनी बताउँछन् । विभागबाट अनुमति लिएको भन्दा बाहिर गएर कारोबार गरेको भेटिए विभागले आवश्यक कारबाही गर्ने प्रवक्ता भट्टराईले बताएका छन्।

यो पनि,

भेस्टिज युनिटी लाइफ इन्टरनेसनल हेल्दी लिभिङ नेपाल प्रालि

विशेष