News

उडिरहेको विमानको ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई कारवाही

उडिरहेको विमानको ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई कारवाही

नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको आरोपमा उनलाई यस्तो कारवाही गरिएको हो।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराईएको छ।

उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । लामा अहिले करारमा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका छन्। ५८ वर्ष उमेरहदका कारण उनले अवकास पाएका थिए।

लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको जनाईएको छ। उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।

लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए । कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ । 
 

विजय लामा

विशेष