रवि लामिछानेलाई किन लाग्यो राजावादीसँग घाँटी जोडिएको आरोप
![रवि लामिछानेलाई किन लाग्यो राजावादीसँग घाँटी जोडिएको आरोप](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/rabi-1a5fa.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेको राजावादीसँग घाँटी जोडिएको आरोप लाग्न थालेको छ। चुनाव प्रचार प्रसारका क्रममा रहेका लामिछानेले गणतन्त्र र धर्मनिरपेक्षता विरोधी तत्वसँग साँठगाँठ गरेको आरोप छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–२ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले पनि लामिछानेले राजावादीहरुसँग साँठगाँठ गरेको दावी गरेका छन् ।
गत सोमबार मनहरी गाउँपालिकाको ३ र ४ नम्बर वडाको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्ने क्रममा पनि उनले त्यही कुरा दोहोर्याए। ‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ, उसले संघीय व्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी दिएन’ उनले भने –‘विभिन्न वहाना गरेर आउनेहरुसँग भ्रममा नपर्नुहोला।’
स्वतन्त्र पार्टीले प्रदेश संरचना नमान्ने घोषणा गर्नु, चितवन ३ मा चुनाव लडन भनेर गएका लामिछानेले एकाएक क्षेत्र नं. २ मा उम्मेदवारी दिनु, राप्रपाका उपाध्यक्ष तथा क्षेत्र नं. ३ का उम्मेदवार विक्रम पाण्डेसँग २ करोड लिएको सुचना चुहिनु, क्षेत्र नं. २ मा राप्रपा र क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति हुनु, र यो सवैको सम्योजन रविका ससुरा एवम् राप्रपाको कोटाबाट समानुपातिक उम्मेदवार रहेका उद्धव पौडेलले गर्नुलाई लामिछाने राजावादीसँग मिलेको र लोकतन्त्रका विरुद्धमा लागेको रुपमा ब्याख्या गरिदैछ।