News

विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

बाजुरामा एमाले निकट विद्यार्थी नेताको हत्या आरोपमा प्रहरीले वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ।

अनेरास्ववियुका नेता चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जना पक्राउ परेका हुन् । वडाध्यक्ष अयडी यसअघि पनि विवादमा तानिएका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाजुराले एक लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

चेतनको हत्यामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बाजुराका २० भन्दा बढी ठाउँमा विवाद उत्पन्न भएको थियो । सोही कारण स्थगित मतगणना आज (बिहीबार) मात्र सुरु भएको छ ।

निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर हत्या गरिएको थियो ।

मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तीमध्ये वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ। 
 

विशेष