प्रचण्डको खुलासाः चुनावमा विदेशी चलखेलले माओवादीलाई धक्का
![प्रचण्डको खुलासाः चुनावमा विदेशी चलखेलले माओवादीलाई धक्का](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/prachanda-97fff.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गतेको निर्वाचनमा विदेशी हावी हुँदा आफनो पार्टीलाई धक्का लागेको खुलासा गरेका छन् । नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत उनले बताए ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आईतवार सम्बोधन गर्दै उनले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे।
‘योभन्दा अगाडिका निर्वाचनमा माओवादीलाई कति भोट आए म केही भन्दिनँ। त्यो नेपालीहरुले नै गरेको चुनाव थियो, अहिलेको निर्वाचन त्यस्तो देखिएन र रहेन’, उनले भने, ‘कुरो धेरै नै गम्भीर छ। यो अलिक अर्कै कुरा हो। हामीले संविधान बनाएको हो, घोषणा पनि हामीले नै गरेको हो। संविधानपछि निर्वाचन हामीले नै घोषणा गरेको हो। अहिले त्यस्तो छैन। अलिक गम्भीर नै छ।’
उनले यो निर्वाचन परिणामलाई लिएर आत्मसमीक्षा नगरे गम्भीर भूल हुने पनि बताए। ‘यो पटक गम्भीर आत्मसमीक्षा गरेनौँ र अन्तर्राष्ट्रिय फेनामेना जो देखिएको छ, त्यसलाई राम्रोसँग विश्लेषण गरेर पोलोराइजेसनतर्फ गएको विश्व परिस्थितिलाई नबुझे अझै अफ्ठ्यारो दिन आउन सक्छन्।’– उनले भने।