News

जसलाई अर्कै पार्टीबाट ल्याएर एमालेले सांसद बनायो

जसलाई अर्कै पार्टीबाट ल्याएर एमालेले सांसद बनायो

नेकपा एमालेले यस पटक अर्कै पार्टीबाट आएका धेरै जनालाई सांसद बनाएको छ। एमालेबाट मधेशी कोटामा सांसद बनेकी अमृता अग्रहरी यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट सांसद थिइन्।

उनी २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सांसद बनेकी थिइन्। राजपा र समाजवादी पार्टीको एकताबाट जसपा बनेर पुनः विभाजन भएपछि उनले जसपा नै रोजेकी थिइन्।

जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवको अन्तरसंघर्ष हुँदा अग्रहरी भट्टराईको पक्षमा थिइन्। अन्तिम समयमा यादवसँगै रहेकी अग्रहरी यसपालि चुनावको मुखमा मात्रै एमाले प्रवेश गरेकी हुन्। उनलाई एमालेले समानुपातिकबाट सांसद बनाएको छ।

यतिमात्रै होईन, समानुपातिकतर्फ पठाउने सांसदको सूचीमा आधा दर्जनभन्दा धेरै अन्य पार्टीबाट आएका छन्। त्यसो त एमालेले पहिलो र दोस्रो संविधान सभामा अर्कै पार्टीबाट सांसद बनेकाहरूलाई पनि अवसर दिएको छ। पहिलो र दोस्रो संविधान सभामा परिवार दलबाट सांसद बनेका एकनाथ ढकालले अहिले एमालेबाट सांसद बन्ने अवसर पाएका छन्। उनी खसआर्य कोटाबाट सांसद बनेका हुन्।

ढकाल युनिफिकेसन चर्चसँग जोडिएका व्यक्ति हुन्। उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्। २०७५ मंसिर ढकालको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले ‘होली वाइन’ पिएको भन्दै आलोचना भएको थियो।

मधेशी कोटाबाट सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि दोश्रो संविधान सभामा माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि उनी एमाले प्रवेश गरेकी हुन्। उनै तिवारीले अहिले एमालेबाट अवसर पाएकी छन्।

पहिलो र दोश्रो दुवै संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशी अहिले एमालेका तर्फबाट सांसद बनेका छन्। उनी गत वर्ष कांग्रेसको महाधिवेशनमा असन्तुष्ट बनेर एमाले छिरेका थिए। झापाका राजवंशी ओलीको रोजाइमा परेपछि सांसद बन्न पाएका हुन्।

पटकपटक सांसद बनेर एमाले प्रवेश गरेकाले मात्रै होइन, यसअघि सांसद बन्ने अवसर नपाएकाहरूले समेत एमाले बनेर अवसर लिएका छन्।

नेकपा माओवादी र नेकपा एमालेको एकता खारेज भएपछि एमाले बनेकी नैनकला थापाले सांसद बन्ने अवसर पाएकी छन्। उनी नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। नैनकलाले केपी ओली नेतृत्वमा केही दिन सञ्चारमन्त्री हुने अवसर पाएकी थिइन्।

व्यापारिक पृष्ठभूमिका देवीप्रसाद भट्टचनले एमालेको राजनीति गरेका होइनन्। स्रोतका अनुसार उनी कांग्रेसको समानुपातिक कोटामा समेत परेका थिए। तर कांग्रेसले आदिवासी–जनजाति क्लस्टरको तेस्रो नम्बरमा राखेपछि उनी एमालेको सूचीमा बसेका हुन्। भट्टचनलाई एमालेले जनजाति क्लस्टरको पहिलो नम्बरमा राखेको थियो।

एमालेको समानुपातिक कोटाबाट सांसद बनेका हेमराज राई गत भदौमा मात्रै पार्टी प्रवेश गरेका हुन्।त्यसअघि उनी जसपाको कार्यकारिणी सदस्य थिए। 

विशेष