News कभर स्टोरी

मुगाल समुदायबाट पहिलो सांसद बनिन् छिरिङ 

मुगाल समुदायबाट पहिलो सांसद बनिन् छिरिङ 

मुगुको सदरमुकाम गमगढीको उत्तर पूर्वमा पर्ने सबैभन्दा ठुलो स्थानीय तह हो मुगुम कार्मारोङ ।  पूर्वमा डोल्पाको से-फोक्सुन्डो गाउँपालिका र उत्तरमा उत्तरमा चिनको स्व-शासित क्षेत्र तिब्बतसँग जोडिएको यस स्थानीय तहमा मुगाल (मुगुम) समुदायको बसोबास छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले मुगाल समुदायलाई आदिवासी जनजाति भनेर परिभाषित गरेको छ । 

मुगाल समुदायको खास उद्गम थलो मुगुको मुगु, डोल्फु, किम्की, पुलु र मान्ग्री क्षेत्र हो । पृथक् भाषा, संस्कृति, परम्परा भएको यो समुदायको बसोबास अहिले नेपालभित्र र नेपाल बाहिर पनि झाँगिँदै  गएकाे छ । मुगाल समुदायको बसोबास नेपालभित्र जुम्ला तथा काठमाडौँको बौद्ध क्षेत्रमा विस्तार भएको छ । त्यस्तै, नेपालबाहिर अमेरिका, बर्मा लगायतका देशमा पनि उनीहरू पुगेका छन् । मुगुम कार्मारोङ क्षेत्रबाट देश विदेशमा फैलिएका मुगाल समुदायमा एकताको भावना भने अझै मजबुत छ । जातीय सङ्घ सङ्गठन बनाएर बेला मौकामा सामूहिक भेटघाट, जमङट तथा सामुदायिक हितका कार्यक्रम गर्न उनीहरू सक्रिय छन् ।

हालै सम्पन्न आम निर्वाचनमा नेकपा माओवादी केन्द्रले जुम्लाबाट छिरिङ ल्यामु लामा तामाङलाई सङ्घीय सांसदका लागि समानुपातिक उम्मेदवार उठाएको थियो । तीनै छिरिङ अब सांसदको भूमिकामा देखिने छिन् । माओवादी केन्द्रले निर्वाचन आयोगलाई बुझाएको १४ जनाको समानुपातिक सूचिमा छिरिङ आदिवासी जनजाति महिलाको कलस्टरबाट सिफारिस भएकी हुन् । छिरिङ मुगाल समुदायबाट राज्यको माथिल्लो निकायसम्म पुग्ने पहिलो व्यक्ति बनेकी छन् । उनी मुगाल समुदायकी पहिलो उम्मेदवार तथा सांसद बन्ने व्यक्ति पनि बनेकी छन् । 

मुगाल समुदायबाट राज्यको माथिल्लो तहमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति भएको हुनाले जिम्मेवारी र चुनौती थपिएको छिरिङले बताइन् । आफ्नो उम्मेदवारी पश्चात् देश तथा विदेशमा रहेका मुगाल समुदायले एकीकृत भएर भोट दिएको उनले सम्झिइन् । ‘हामी करिब दुई पुस्तादेखि जुम्लामा बस्दै आएका छौँ । हाम्रो पुर्ख्यौली थलो मुगु हो । मुगाल समुदाय जो जहाँ भए पनि अझै सामुदायिक एकता छ । म उम्मेदवार भएपछि देश विदेशमा रहनुभएका सबै दाजुभाइहरूले एकताबद्ध भएर भोट दिन आग्रह गरेका थिए, उनले भनिन्, ‘मेरो सहभागितालाई मेरो समुदायले महत्त्वपूर्ण अर्थका साथ हेरेको छ ।’

छिरिङ राजनीतिमा सक्रिय हुनुभन्दा अघि समाजसेवा गर्थिन् । सामुदायिक कार्यमा रुचि भएकी उनी २०७० पश्चात् माओवादी केन्द्रमा राजनीतिक रूपमा आबद्ध भइन् । वर्तमान व्यवस्था र परिवर्तनको कारक माओवादी केन्द्र भएकोले आफूलाई त्यहाँ उपयुक्त भएको महसुस गरेर पार्टी प्रवेश गरेको उनले सुनाइन् । 

‘मुलुकको शासकीय व्यवस्था प्रजातन्त्र, बहुदल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दासम्म मुगाल समुदाय भोट बैङ्कका रूपमा मात्रै  प्रयोग भएका छन् । सङ्घीयता पश्चात् एक जना वडाध्यक्ष बाहेक राज्यको प्रशासनिक संयन्त्रमा मुगाल समुदायको पहुँच पुग्न सकेको थिएन, उनी भन्छिन् ‘वर्तमान व्यवस्था र परिवर्तनको संवाहक माओवादी केन्द्र नै हो । माओवादी जनयुद्धले ल्याएको व्यवस्थामा महिला, जनजाति, दलित, पिछडिएको वर्ग तथा समुदायले अधिकार पाउँछन् भन्ने एउटा उदाहरण म पनि हुँ ।’

उच्चमाध्यमिक शिक्षासम्म अध्ययन गरेकी छिरिङले आगामि संसदीय राजनीतिमा कर्णालीलाई जबरजस्त प्रस्तुत गर्ने बताइन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, महिला तथा युवाका सवालमा संसद्मा आफूले खबरदारी गर्ने सोच रहेको उनको भनाइ छ । 

 

माअाेवादी केन्द्र मुगाल समुदाय छिरिङ ल्यामु लामा पहिलाे सांसद

विशेष