News

रवि लामिछाने सरकारमा जान तयार

रवि लामिछाने सरकारमा जान तयार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने भएको छ। पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको यो पार्टीले सरकारमा जानका लागि दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल भइरहेको जनाईएको छ।

पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको छ । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । 

विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन पार्टी तयार भएको उनले बताए । 

‘हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौँ। उदाहरणका लागि सयवटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुप¥यो’ उनले भने–‘मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुप¥यो ।’

त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको उनले बताए । 

नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।
 

विशेष