News

प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना प्रबल

प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना प्रबल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना वढेको छ। कुनै दलसँग पनि वहुमत नभएको र माओवादी विना सरकार गठन गर्नै मुस्किल पर्ने देखिएपछि दाहालकै इच्छा अनुसार उनलाई प्रधानमन्त्री बनाउनु पर्ने स्थिती श्रृजना हुँदै गएको छ।

दाहालले त्यसको संकेत पनि गरेका छन् । वुधवार कास्कीको अन्नपुर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले आफु छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताए । उनले भने–‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण समेत गरे।

यता, दाहालले सम्भावित सत्ता समिकरणबारे वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख अग्नी सापकोटा, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गरेका छन्। पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका दाहाल सत्ता समिकरण निर्माणको आन्तरिक गृहकार्यमा जुटेका हुन्।

सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा दाहाल रहेको माओवादी केन्द्रका एक उच्च नेताले बताए । खुमलटारमा आइतबार बिहान भएको भेटमा पनि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनाउन सम्भावित समिकरणबारे छलफल भएको स्रोतले जनाएको छ।

शनिबार बेलुका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले दाहाललाई भेटेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने आग्रह गरेको जनाईएको छ। बस्नेतले वाम गठबन्धनकै सरकार निर्माणमा गृहकार्यमा लाग्न समेत बस्नेतले आग्रह गरेका थिए।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि अहिले भित्रभित्रै माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी नेताहरुले भेटघाट छन् ।

दाहालले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहसँग पनि भेट गरेका थिए। त्यस अगाडि उनले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता गरिसकेका छन् ।

दाहालले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन्।
 

विशेष